
काठमाडौं– सोमबार राजधानीसहित देशका विभिन्न स्थानमा बम फेला परेको छ । सोमबार कार्यकर्ता हत्याको विरोधमा प्रतिबन्धित विप्लव समूहले बन्द आह्वान गरेको र त्यसलाई सफल बनाउने उद्देश्यका साथ आतंक फैलाउन बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।
बिहानै राजधानीका विभिन्न स्थानमा बम फेला परेको छ । सातदोबाटो, भैसेपाटी र हात्तीबनमा बन फेला परेको हो ।
यसअघि आइतबार पनि राजधानीको विभिन्न स्थानमा बम फेला पर्नुका साथै तीन स्थानमा विस्फोट समेत हुँदा ४ जनाको ज्यान गएको थियो ।
विप्लवका कार्यकर्ताले बस जलाए
सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
पोखराका तीन ठाउँमा शङ्कास्पद वस्तु
पोखरा–पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ ।
यस्तै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै बिहान करिब पौने तीन बजे प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा फेला पारेको शंकास्पद बस्तुलाई सुरक्षाकर्मीले निस्किृय पारेको छ ।
यसैगरी, अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।
यता, नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।
यसैगरी, मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।
यसैगरी रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।
कपिलवस्तुको वाणगंगाका दुई स्थानमा बम फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको हेटौडामा पनि बम फेला परेको छ ।