
काठमाडौं – भारतको राजधानी दिल्लीस्थित गोविन्दपुरीमा शनिवार मध्यरात प्रहरीलाई एउटा कल आयो । कल गर्नेले भन्यो, ‘धेरै दिनदेखि भुइँतल्लाको एउटा बन्द कोठाबाट चर्को दुर्गन्ध आइरहेको छ । डेरावाल पनि गायब छ । बाहिरबाट ताल्चा लागेको छ ।’
यो खबर पाउनेबित्तिकै १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्यो ।
छिमेकीहरूबाट नम्बर पत्ता लगाएर प्रहरीले घरबेटीलाई फोन गर्यो । फोन स्विच अफ थियो । त्यसपछि प्रहरीले हत्याको आशंका गर्यो । अनि घरबेटी र डेरावालको खोजी प्रहरीले गर्न थाल्यो । रातभरि चार प्रहरीले घरबाहिर पहरा दिए । आरोपितहरूमाथि नजर राख्न र कसैलाई पनि भित्रबाट लाश लिएर कोही नजाओस् भन्न प्रहरी खटाइयो ।
बिहानसम्म घरबेटीको प्रतीक्षा गरियो । ऊ नआएमा सबैका अगाडि ताल्चा फुटाउन तयारी गरियो । प्रहरीले १० घन्टासम्म कोठाको घेराबन्दी गर्दा पूरै इलाकामा हल्लाखल्ला मच्चियो ।
त्यसपछिको दृश्यले चाहिँ सबैलाई हँसायो ।
प्रहरीले फोरेन्सिक टीम बोलायो । बिहान ८ बजेतिर घरबेटी सम्पर्कमा आए । उसले डेरावालले डेरा छोडिसकेको बतायो । उसले ताल्चा खोलेपछि प्रहरीको टोली भित्र पस्यो । छानबिन गर्दा त एउटा मोटो मुसा मरिरहेको भेटियो ।
मुसोको लाश सडिसकेको थियो । प्रहरीले मानिसको हत्या नभएको देखेर राहत मान्दा मानिसहरू चाहिँ हाँस्न थाले । दश घन्टासम्म प्रहरीको समय बर्बाद भएपछि उसले घरबेटीलाई कोठा सफा गर्न निर्देशन दियो र त्यहाँबाट गयो ।
एजेन्सी