
काठमाडौं– नेपालबाट भारत तथा बंगलादेश विद्युत निर्यात गर्ने बहसकाबीच नेपालमै अझै करीब २२ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर रहेको देखिएको छ ।
सरकारी तथ्यांकले अझैपनि २२ दशमलव २ प्रतिशत नेपाली जनसंख्या विद्युतको पहुँच बाहिर रहेको देखाएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमवार संसदमा पेश आव २०७५/०७६को आर्थिक सर्वेक्षण अनुसार नेपालमा करीब ७७ दशमलव ८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा रहेको देखाएको हो । गत फागुनसम्म नेपालमा कुल ११ सय ४२ मेगावाट विद्युत उत्पादन रहेको जानकारी गराउँदै मन्त्री खतिवडाले बाँकी जनसंख्या नवीकरणीय उर्जामा आश्रित भएको बताए ।
आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार २२ दशमलव २ प्रतिशत जनसंख्या नवीकरणीय उर्जा स्रोतबाट विद्युत उपभोग गरिरहेका छन् ।