२५ जेठ २०८३, सोमबार
विश्व राजनीतिमा नयाँ धार

राष्ट्रवादको पुनरागमन : युरोपेली संघ र भारतमा सम्पन्न निर्वाचनको सन्देश

राष्ट्रवादको पुनरागमन : युरोपेली संघ र भारतमा सम्पन्न निर्वाचनको सन्देश

संसारका दुई ठूला लोकतन्त्रका मतदाताहरूले स्पष्ट सन्देश दिएका छन् । 

भारत र युरोपेली संघमा भएका निर्वाचनका परिणामले राष्ट्रवादी राजनीतिकर्मीहरूलाई विजयी बनाएको देखिएको छ । युरोपेली संघअन्तर्गतका केही देशहरूमा जनताबाट टाढिएका सम्भ्रान्तहरूले नमीठो हार बेहोर्नुपरेको छ । मध्यमार्गी धार बिस्तारै खिइँदै गएको छ । 

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले सजिलैसँग दोस्रो कार्यकालका लागि चुनाव जिते । विपक्षी कांग्रेस पार्टीले उनलाई देशको धर्मनिरपेक्ष बहुलवादविरुद्धको खतराका रूपमा प्रस्तुत गर्न खोजेको भए पनि मतदाताहरूले भारतीय जनता पार्टीको राष्ट्रवादी नारालाई आत्मसात गरेको देखियो । 

युरोपेली संघका देशहरूमा लोकरञ्जनवादी (पपुलिस्ट), युरोपेली संघविरोधी तथा आप्रवासीविरोधी दलहरूले संस्थापन पक्षका दलहरूलाई पछारेका छन् । बेलायतमा धेरैजसो मतदाताले युरोपेली संघको संसदीय निर्वाचनमा भाग लिने अपेक्षा गरेकै थिएनन् । तर युरोपेली संघका कटु आलोचक नाइजल फराजको नेतृत्वमा बेलायतको ब्रेक्जिट दलले चुनावमा निकै राम्रो प्रदर्शन गरेको छ । त्यस्तै फ्रान्समा मरिन ले पेंको रासेम्ब्लेन्ट नेसनल र इटलीमा म्याट्टियो साल्भिनीको लीग दल शीर्ष स्थानमा रहे । 

यसभन्दा ठीक अघि अस्ट्रेलियामा सम्पन्न आमनिर्वाचनमा मतदाताहरूले सबै एक्जिट पोलहरूलाई गलत साबित गर्दै स्कट मोरिसनको दक्षिणपन्थी सरकारलाई नै दोस्रो कार्यकाल चलाउन मत दिए । 

संसारभरि अहिले क्रमशः राजनीति दक्षिणपन्थमा ढल्किएको छ । मतदाताहरूले धमाधम वामपन्थी र मध्यमार्गी दलहरूलाई तिरस्कार गर्न थालेका छन् । लामो समयसम्म सत्ता चलाएका ती दलहरूले सरकारी खर्च कटौती र आर्थिक अवनति गराएका थिए । 

युरोपमा दक्षिणपन्थी रुझानले विगतको गौरवलाई फर्काउने इच्छा राखेको देखिन्छ । बेलायत यसको राम्रो उदाहरण हो । ब्रेक्जिट पक्षधर सांसदहरूले बेलायती साम्राज्यलाई पुनर्जागृत गराउने योजनाको चर्चा गर्ने गरेका छन् ।

उनीहरू अहिलेको समयमा बेलायतको भूमिकालाई बढाइचढाइ प्रस्तुत गर्छन् तर युरोपेली संघबाट छुट्टिएपछि बेलायत एउटा सानो देशमा सीमित हुने सम्भावना बढी छ । 

भारतमा मोदीको लगातार सफलताले विगतको कामगराइभन्दा पनि भविष्यको बाटो देखाएको छ । भारतीयहरू आफ्नो देश विश्वको नयाँ महाशक्ति बन्न लागेको अनुभव गर्छन् र मोदी तथा उनको राष्ट्रवादी दल भाजपा नै भारतलाई विश्वशक्ति बनाउने उपयुक्त पात्र हुन् भन्ठान्छन् । 

यी चुनावी अभियानले इतर पक्षप्रति बेवास्ता तथा घृणा देखाउने गरेका छन् । त्यो इतर पक्ष प्रायः गरीब तथा धार्मिक अल्पसंख्यक हुन् । 

मोदीले सरकार चलाउन थालेदेखि हिंस्रक हिन्दू राष्ट्रवादको विस्तार भएको भनी चिन्ता व्यक्त भएका छन् । युरोपेली मुलुकहरूमा मुसलमानविरोधी तथा नाजीवादी समूहहरू मुखर भएका छन् अनि आप्रवासीहरूको व्यापक विरोध भएका छन् । 

युरोपेली चुनावहरूको सबभन्दा बढी ध्यान महादेशमा फैलिएको लोकरञ्जनवादीमा परेको छ । 

राजनीतिशास्त्री कास मुद्देले लोकरञ्जनवादलाई परिभाषित गर्दै भनेका छन्, ‘यो कमजोर विचारधारा हो जसले समाजलाई दुई परस्परविरोधी समूहमा विभाजित गर्छ : ‘शुद्ध जनता’ तथा ‘भ्रष्ट सम्भ्रान्त’ । 

तर सामान्य बहसमा यसले बेलायतमा जेरमी कोर्बीनको लेबर पार्टी र साल्भिनीको उग्रदक्षिणपन्थी लीग दल जस्ता नितान्त भिन्न दलहरू उस्तै किसिमका नीतिहरूले  जोडिएको देखाउँछ । तर नजिकबाट हेर्दा कुरा यस्तो हो : मिडियाका सम्भ्रान्तहरूले मन नपराउने ढंगले ठूलो जनसंख्यालाई अपील गर्ने काम नै लोकरञ्जनवाद हो ।

दक्षिणपन्थी, आप्रवासविरोधी तथा सम्भ्रान्तविरोधी लोकरञ्जनवादी दलहरूतर्फको ढल्को वर्षौंदेखि बन्दै गएको हो । टाइम पत्रिकाले पपुलिस्ट्स (लोकरञ्जनवादी)हरूलाई सन् २०१६ को वर्षव्यक्ति बनायो । 

यो प्रवृत्तिलाई दक्षिणपन्थको उदयका रूपमा चित्रित गरिएको भए पनि मध्यमार्गी वामपन्थी दलहरूप्रतिको समर्थन घटेपछि लोकरञ्जनवाद बढेको हो । 

‘लोकरञ्जनवादी दक्षिणपन्थीको उदय मध्यमार्गी वामपन्थीको विनाशपछि सम्भव भएको हो,’ ब्रूकिंग्स इन्स्टिट्युटका सुशासनविज्ञ विलियम गाल्सटोनले पोहोर साल लेखेका थिए । फ्रान्समा सोसियलिस्ट, नेदरल्यान्ड््समा लेबर पार्टी, इटलीको डेमाक्रेटिक पार्टी र चेकको सोसियल डेमोक्रेटहरूको पतनलाई उनले इंगित गरे । 

‘सामाजिक लोकतन्त्रको खम्बाका रूपमा लामो समयसम्म पहिचान बनाएको स्क्यान्डिनेभियामा समेत मध्यमार्गी वामपन्थी दलहरू पतनको संघारमा छन् अनि राष्ट्रवादी दलहरू बढिरहेका छन्,’ गाल्सटोनले लेखे, ‘दबाब परेपछि मध्यमार्गी दक्षिणपन्थी दलहरू लोकरञ्जनवादी नीति अपनाउन बाध्य भएका छन् ।’

भारतमा मोदीको विजय भारतीय कांग्रेसको क्षयीकरणका कारण सम्भव भएको हो । कांग्रेस वामपन्थी ढल्को भएको मध्यमार्गी दल हो र उसले स्वतन्त्रतापछिको भारतमा लामो समय शासन चलायो । कांग्रेस अध्यक्ष राहुल गान्धीले भाजपाको विजयरथलाई रोक्न सकेनन् अनि आफ्नै सीट समेत गुमाउन पुगे । 

महानतालाई फेरि ब्युँताउने कल्पनासहित भारतीय र युरोपेली मतदाताहरू समाजमा व्याप्त आर्थिक असमानता तथा धर्मनिरपेक्षतासँग संघर्ष गरिरहेका छन् । 

यसो गर्दा मतदाताहरूले बहुसंख्यक समुदायको मात्र हित गर्ने राजनीतिलाई प्रश्रय दिने तथा अल्पसंख्यक र सीमान्तीकृत समुदायलाई जोखिममा पार्ने सम्भावना हुन्छ जसले गर्दा समाज थप शत्रुतापूर्ण र कम खुला हुन पुग्छ । 

भारत र युरोपेली संघका नयाँ सरकारले विश्वव्यापी राजनीतिमा ठूलो असर पार्न सक्छन् अनि जलवायु परिवर्तन जस्ता विषयमा अन्तर्राष्ट्रिय सम्मति प्राप्त गर्न गाह्रो बनाउन सक्छन् । 

लोकरञ्जनवादीहरूलाई रोक्न खोज्ने दलहरू हालका वर्षमा असफल भइरहेका छन् । यसका विभिन्न कारण छन् ः सरकारको खर्च कटौती गर्ने नीति, खराब आर्थिक प्रदर्शन, परराष्ट्र नीतिका विफलता । मध्यमार्गी दलहरूले आफूलाई पुनर्जागृत गरेर देशलाई लोकरञ्जनवादी दक्षिणपन्थी धारतर्फ जानबाट रोक्न सक्लान् कि नसक्लान्, समयले नै बताउनेछ ।

सीएनएनमा प्रकाशित जेम्स ग्रिफिथ्सको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्