
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो नेता बनेका छन् ।
ट्रम्प अहिले जापानको चारदिने राजकीय भ्रमणमा छन् । उनलाई सम्राट र साम्राज्ञी मासाकोले टोक्योस्थित इम्पेरियल दरबारमा स्वागत गरे ।
सम्राट नारुहितोले केही समयअघि मात्र गद्दी सम्हालेका हुन् । उनका पिता अकिहितोले पदत्याग गरेपछि उनी सम्राट बनेका हुन् । शताब्दियौंपछि एक जापानी सम्राटले गद्दी छोडेका हुन् ।
‘यस्तो भएको २०० वर्षभन्दा बढी भइसकेको छ,’ ट्रम्पले गद्दीत्यागका बारेमा बताए । ‘त्यसैले अमेरिकाको प्रतिनिधित्व गर्दै यहाँ आउनु गर्वको विषय हो ।’
ट्रम्प र उनकी पत्नी मेलानियालाई जापानी सैनिकले सम्मान गारद अर्पण गरेका थिए । मानिसहरूले अमेरिकी र जापानी झण्डा फहराएर सोमवार औपचारिक स्वागत समारोहमा भाग लिएका थिए ।
ट्रम्पले जापानी सम्राट र साम्राज्ञीलाई दरबार पस्नुअघि हल्का झुकेर अभिवादन गरेको समाचार संस्था रोयटर्सले लेखेको छ ।
ट्रम्प र मेलानियालाई दरबारमा रात्रिभोज दिइनेछ ।
बीबीसीबाट