
लमजुङ – गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करीब ५ किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोमबार राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ ।
खबरलगत्तै भोर्लेटार ईलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो । चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।
उनका अनुसार शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ । मृतक साँखीले मंगला माध्यमिक ११ कक्षाको परीक्षा दिएर बसेका थिए ।
त्यस्तै सोही स्थानकै स्थानीय कृष्णप्रसाद बगालेको एउटा राँगो चट्याङ लागेर मरेको छ । राँगो मर्दा करीब ७० हजार रुपैयाँ बराबरको क्षति भएको बगालेले बताए ।