२६ जेठ २०८३, मंगलबार

रेलले किचेर एकै परिवारका दुईको मृत्यु

रेलले किचेर एकै परिवारका दुईको मृत्यु
सन्दर्भ तस्वीर

भद्रपुर- झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ । शनिवार बिहान ११ बजे भारतको बाघपुल नजिक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा रहेको उनीहरूका छिमेकी लक्ष्मी उप्रेतीले जानकारी दिए । उनको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि डम्बरकुमारीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराजले बताए । 

उनका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधवार इन्द्रको चार जनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेका थिए । बिहानको खाना खाएर रेलको लिक नजिकै रूखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ । 

आमा गएको देखेर कान्छो छोरा रोहन पछिपछि कुदेर जाँदा रेलले उनलाई पनि किचेको थियो । जेठो छोरा भने केही पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ । मृतक रोहन काँकडभिट्टास्थित लोफोफोरस अङ्ग्रेजी मावि कक्षा ६ मा अध्ययरत रहेको प्रधानाध्यापक सागर गुरुङले बताए । 

भारतीय प्रहरीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ । भारतको एक मेडिकल कलेजमा शवपरीक्षणपश्चात् आज मात्र बाबुछोराको शव नेपाल ल्याइने भएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले दुर्घटनामा मृत्यु भएको सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए । उनले भारतीय प्रहरीसँग बुझ्दा घटना भएको स्वीकार गर्दै आज शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्