
काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सांसदहरुलाई जनही ६ करोड बाँड्ने सरकारी निर्णयलाई भ्रष्टाचार गर्ने अभ्यासको संज्ञा दिएका छन् । सोमवार नवलपुरमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा नेता पौडेलले सांसदहरुलाई बाँड्ने भनिएको रकम एकै ठाउँमा जम्मा गरी 'बास्केट फण्ड' मार्फत् राष्ट्रिय गौरवका आयोजना निर्माणमा खर्च गर्नुपर्ने माग गरे ।
केन्द्र, प्रदेश तथा बुहसंख्यक स्थानीय तहमा नेकपाको सत्ता रहेको अवस्थामा वास्तवमै नेकपा नेतृत्वको सरकारले समृद्धि चाहेको हो भने निर्वाचित सांसद तथा जनप्रतिनिधिहरुलाई कुनै तलब भत्ता नलिई सबै रकम समृद्ध नेपाल बनाउने अभियानमा खर्चन पौडेलले चुनौति दिए ।
केन्द्रीय समितिको अबको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित सांसदसहित सबै जनप्रतिनिधिहरुले पाउने सबै खाले तलब, रकम तथा भत्ता निश्चित कोषमा जम्मा गरी राष्ट्रिय गौरवका आयोजना निर्माणमा खर्च गर्नुपर्ने प्रस्ताव आफूले लैजाने पौडेलले बताए । सरकारले घोषणा गरेको बजेटले मुलुकलाई कुनै पनि हालतमा समृद्ध बनाउन नसक्ने ठोकुवा पौडेलको थियो ।
'आन्तरिक स्रोत साधनबाट अहिले ९ खर्ब ८१ अर्ब उठ्छ, तर चालू खर्च नै ९ खर्ब ५७ खर्ब छ, अब बाँकी रहेको २४ अर्बबाट कसरी समृद्ध नेपाल बनाउन सकिन्छ ?' पौडेलले प्रश्न गरे । चालू खर्च नै ९७ दशमलव ५५ प्रतिशत रहेको अवस्थामा २ दशमलव ४५ प्रतिशतको विकास खर्चबाट समृद्धि असम्भव रहेको उनको तर्क थियो ।
सरकारले बजेट मार्फत् आर्थिक मितव्यीताको कुनै खाका ल्याउन नसकेको पौडेलले बताए । मुलुकमा आवश्यकता भन्दा बढी कर्मचारी, सेना तथा प्रहरीको संख्या रहेको भन्दै उनले ति सबैको संख्या कटौती गर्नुपर्ने धारणा राखेका थिए ।