काठमाडौं – वैज्ञानिकहरूले चित्र बनाउन र रेखा कोर्न सक्ने रोबोट बनाएका छन् । यसलाई आईडा नाम दिइएको छ ।
रोबोटलाई महिलाको अनुहार दिइएको छ । यसले आफ्नो रोबोटिक हात र आँखाले चित्र बनाउँछ । रोबोटको नाम गणितज्ञ एडा लवलेसको नाममा राखिएको छ ।
आईडाले बनाएका चित्रको प्रदर्शनी अक्सफोर्ड विश्वविद्यालयमा गरिनेछ । अर्को साता बुधवारबाट प्रदर्शनी शुरू हुनेछ ।
यसमा पेन्टिङ, ड्रइङ, मूर्तिकला र भिडियो आर्ट संलग्न गरिनेछ ।
रोबोटले चित्रकला तयार पार्न कृत्रिम प्रज्ञा र एल्गोरिदमको प्रयोग गर्छ ।
रोबोट बनाउने एडन मेलरले पहिलो व्यावसायिक रोबोट कलाकार संसारसामु पेश गरिएको बताए । उसले आफैं कागजमा आकार बनाउँछ अनि रंग भर्छ ।
रोबोटका हातहरू इंग्ल्यान्डका इन्जिनीयरहरूले तयार पारेका हुन् । अनुसन्धानकर्ता लुसी सीलका अनुसार, यसको कलात्मक क्षमतालाई विचार गरेर विशेष प्रोग्रामिङ गरिएको छ ।
एजेन्सी