
सिरहा – मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा पनि असर परेको छ ।
घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभावका कारण विदेशिने क्रम बढिरहेका बेला मुलुकमा भएको द्वन्द्वको समयमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य थिए ।
नेपाल सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरेर पनि सीप सिकेका युवाले त्यही प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यस्तो समस्या आएको हो । गाउँमा युवा नभएपछि यता दक्ष जनशक्तिको अभाव हुनाका साथै पारिवारिक काममा समेत समस्या उत्पन्न भएको छ ।
भदैयाका विष्णुदेव चौधरीले भने, ‘स्वदेशमै कुनै अवसर उपलब्ध गराउन सके बेलाबखत भएपनि युवा गाउँमा आउँथे अनि थोरबहुत सहयोग पुग्ने थियो तर उनीहरू नै विदेशिएपछि वर्षाैसम्म आउँदैनन्, अनि समस्या झन् थपिँदै गएको छ ।’
गाउँका युवा विदेश पलायन हुँदै गएपछि अहिले विवाह, व्रतबन्ध तथा मर्दापर्दा लास बोकेर आर्यघाटसम्म पुर्याउनसमेत कठिन हुने गरेको लहानस्थित जेएस मुररका बहुमुखी क्याम्पसका स्ववियू सभापति अशोककुमार चौधरीले बताए । गाउँमा पर्याप्त युवा जनशक्ति नभएपछि समाजमा मर्दापर्दाको समयमा गाउँमा भएका २–४ युवाले मात्र काम गर्ने गरेको उनको भनाइ थियो ।