
काठमाडौं – पाकिस्तानी सेनाले अभूतपूर्व कदम चाल्दै आगामी आर्थिक वर्षका लागि स्वेच्छाले रक्षा बजेट कटाएको छ । नगदको अभाव झेलिरहेको पाकिस्तान सरकारले खर्च कटौती अभियान चलाइरहँदा सेनाले त्यसमा सहयोग गरेको हो ।
पाकिस्तान र छिमेकी भारतबीच तनाव उच्च रहँदा सेनाले यसरी खर्च कटौती गर्नु आफैंमा बहादुरीपूर्ण कदम हो । तर पाकिस्तानी सशस्त्र बलका प्रमुख प्रवक्ता मेजर जनरल असिफ गफूरले सुरक्षा र रक्षालाई समस्या पर्ने गरी खर्च
कटौती नगरिएको र सेनाले सबै किसिमका जोखिममा प्रभावशाली जवाफ दिने बताए ।
प्रधानमन्त्री इमरान खानले थुप्रै सुरक्षा चुनौतीका बावजूद सेनाको यो कदमप्रति आभार प्रकट गरेका छन् । खान आफैंले पनि खर्च कटौती गर्दै सानो घरमा बस्ने गरेका छन् ।
पाकिस्तान सन् २०१८ मा संसारको बीसौं ठूलो सैन्य खर्च गर्ने मुलुक थियो । उसले सेनामा ११.४ अर्ब डलर लगानी गरेको थियो जुन उसको कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत हो ।
एजेन्सी