
काठमाडौँ -वाग्मती सफा बनाउन २५ वर्षअघि स्थापित अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयअघि नै फोहर भएपछि स्थानीयवासी सफाइमा जुटेका छन् ।
गुह्येश्वरी मन्दिर अगाडिको चौर र वाग्मतीको उद्यानमा सफा गरी त्यहाँ जम्मा भएको फोहर व्यवस्थापन गरिएको वाग्मती अभियानकर्मी पद्मराज रेग्मीले जानकारी दिए ।
गुह्येश्वरी युवा क्लबको नेतृत्वमा यहाँ सफाइ अभियान चलाइएको हो । वाग्मतीलगायत उपत्यकाका नदी सफा गर्ने कार्यादेश पाएको कार्यालयले आफ्नै अघिसमेत सफा गर्न सक्दैन भने अन्यत्र कसरी गर्ला भन्ने प्रश्न उब्जिएको स्थानीयवासी रामशरण पाण्डेले गुनासो गरे ।
गोदावरी सफाइ १४औँ हप्तामा
ललितपुरको गोदावरी खोला सफाइ अभियानको १४औँ हप्तामा आमाघर पुलबाट रचनातार पुलसम्मको करीब दुई किमी भागमा सफाइ गरिएको अभियानकर्मी बेबी थापाले बताए । सफाइबाट चार टन फोहर व्यस्थापन गरिएको थियो ।
सफाइमा स्थानीयवासी, तीनवटै सुरक्षा निकाय र विभिन्न विद्यालयका छात्राछात्रको सक्रियता थियो । चक्रपथ अभियानकर्मी दीपक थापाको जन्मदिनको अवसर पारेर वृक्षरोपणसमेत गरिएको थियो ।