
जुम्ला – जिल्लाका ५ विद्यालयका २ हजार ५ सय ४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् ।
कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलंगा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् ।
कर्णाली मावि अनामनगरका ७००, चन्दननाथ नमूना माविका ९००, रत्नचुण्डेश्वर मावि बोहोरागाउँका १७०, जनता प्राविधिक माविका ७०० र जनज्योति मावि बारकोटे वाडाका ७० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएको कर्णाली मावि अनामनगरका प्रधानाध्यापक मीनराज शर्माले जानकारी दिए । २ हजार ५४० मध्येमा ४ विद्यार्थीलाई शल्यक्रिया गर्नुपर्ने, ६ जनालाई सामान्य औषधि खानुपर्ने र १० मुटुरोग भएकालाई छालाको उपचार र शल्यक्रिया गर्नुपर्ने देखिएको शर्माले बताए ।
६ बाथ मुटुरोगी, १४ जनामा जन्मजात मुटुरोगको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । नेपाल क्षयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजना र नेपाल क्षयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा चन्दननाथ नगरपालिकाभित्रका माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई मुटुको जाँच गरिएको हो ।