०३ असार २०८३, बुधबार

स्थानीय तहका जनप्रतिनिधिलाई योजना संकलनमा भ्याइँ–नभ्याइँ

स्थानीय तहका जनप्रतिनिधिलाई योजना संकलनमा भ्याइँ–नभ्याइँ

पर्वत – आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नका लागि पर्वतका वडाध्यक्षलाई योजना छनोटमा यतिबेला भ्याइँ–नभ्याइँ भएको छ ।

आगामी असार १० गतेभित्रै सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने भएकाले बजेटमा समावेश गर्न गाउँ, टोल र बस्तीमा पुगेर योजना छनोट तथा संकलन र छलफल शुरू गरेका हुन् ।

विगत १ सातादेखि नै जिल्लाको कुश्मा, फलेवास, महाशीला, विहादी, पैंयु, मोदी र जलजला गाउँपालिकाका वडाध्यक्ष योजना छनोटका लागि छलफलमा सक्रिय भएका हुन् । सबै टोल र बस्तीमा पुगेर स्थानीय नागरिकका आवश्यकता र चाहना बमोजिम योजना छनोटका लागि छलफल गरिएको महाशिला वडा नम्बर ५ का वडाध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिए ।

उनले वडाका ११ वटा टोल बस्तीमा भेला आयोजना गरी व्यापक छलफल गरिएकोे बताए । शुरूमा बस्तीबस्तीमा पुगेर छलफल गरे पनि अन्तिममा वडा कार्यालयमै वडास्तरीय योजना तर्जुमा गरेर टुंगो लगाइने उनको भनाइ थियो । 
महाशीलाका अध्यक्ष राजु पौडेलले सबै वडामा अहिले आगामी आर्थिक वर्षको योजना बारेमा छलफल भइरहेको बताए ।

कुश्मा नगरपालिकाका पनि अधिकांश वडाका टोलमा छलफल गरी योजना छनोट गरिएको कुश्मा–५ का अध्यक्ष चित्रकला शर्माले जानकारी दिए । उनले योजना स्थानीयकै आवश्यकता र मागका आधारमा योजना छनोट गर्नका लागि टोल र बस्तीस्तरसम्म पुगेर  छलफल गरिएको बताए ।

फलेवास नगरपालिकाले पनि वडाध्यक्षलाई बस्ती बस्तीमा पुगेर योजना छनोट गर्न ताकेता गरिएको जनाएको छ । नगरपालिकाले असार १ गतेभित्र छलफल गरेर योजना टुंग्याउन भनेको प्रवक्ता टीकाराम गौडेलले जानकारी दिए । मोदी गाउँपालिकाका पनि ८ वटै वडामा छलफल चलिरहेको त्यहाँका प्रवक्ता विमल लामिछानेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्