
काठमाडौं, ७ मंसिर –नेपालमा दैनिक डेढ अर्ब रुपैयाँ भन्दा बढीका वस्तु आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०७३/७४ को प्रारम्भिक ४ महिनाको तथ्याङ्कले नेपालमा दैनिक दुई अर्ब ५१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भइरहेको देखाएको हो ।

विभागका अनुसार चालू आवको पहिलो चौमासिक अवधिमा ३ खर्ब १ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकबाट आयात भएको छ । विभागका अनुसार गत वर्षको सोही अवधिमा भएको आयातको तुलनामा ८७ दशमलव ८५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा भएको यस्तो आयात १ खर्ब ६० अर्ब ६५ करोड ७६ लाख रुपैयाँ बराबर थियो ।
निर्यातभन्दा १२ गुणा बढी आयात
विभागले सार्वजनिक गरको तथ्याङ्क अनुसार चालू आवको साउनदेखि कात्तिकसम्म भएको वस्तु आयात –निर्यातको स्थिति हेर्दा निर्यातको तुलनामा आयात झण्डै १२ गुणाले बढी छ ।
समीक्षा अवधिमा नेपालले २४ अर्ब ४९ करोड २७ लाख रुपैयाँ बराबरका वस्तुमात्र निर्यात गरेको छ । यो निर्यात गत वर्षको तुलनामा १३ दशमलव ०१ प्रतिशतलेमात्र बढी हो ।
झण्डै शतप्रतिशतले बढ्यो व्यापार घाटा
आयात अत्यधिक बढ्दा व्यापार घाटा पनि चुलिएको छ । समीक्षा अवधिमा भएको व्यापार घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ९९ दशमलव ५२ प्रतिशत पुगेको विभागले जनाएको छ । समीक्षा अवधिमा नेपालले २ खर्ब ७७ अर्ब २९ करोड ५२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । अघिल्ले आवको सोही अवधिमा भएको व्यापार घाटा १ अर्ब ३८ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ थियो ।
वढ्यो वैदेशिक व्यापार
विभागका अनुसार चालू आवमा वैदेशिक व्यापार पनि ह्वात्तै बढेको छ । चालू आवमा नेपालले गत आवको तुलनामा ३ चौथाई वढी वैदेशिक व्यापार गरको छ । अघिल्लो आवको पहिलो चौमासिकमा नेपालले कुल १ खर्ब ८२ अर्ब ३३ करोड ९ लाख वैदेशिक व्यापार गरेको थियो । चालू आवको समीक्षा अवधिमा भने नेपालले कुल ३ खर्ब २६ अर्ब २८ करोड ६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । चालू आवमा भएको वैदेशिक व्यापार गत आवको सोही अवधिको तुलनामा ७८ दशमलव ९५ प्रतिशतले बढी हो ।
भारतीय नाकाबन्दीका कारण गत वर्ष नेपालको वैदेशिक व्यापार स्वात्तै घटेको थियो । मुलुकमा वस्तु उत्पादनको स्थिति नाजुक हुँदा नेपालले दैनिक ठूलो मात्रामा अत्यावश्यक वस्तुसमेत आयात गर्दै आएको छ ।