
चितवन- गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले जानकारी दिए । उनका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन् ।
बच्चाको जीउ र अनुहारमा दादुरा, ठेउला, पानीका फोका देखिने गरेको छ । डा. बसौलाले एउटै परिवारका छ जनासम्म बच्चा जण्डिसको समस्या लिएर आएको जानकारी दिए ।
दैनिक सयको हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गरेकामा दुई सातायता यो सङ्ख्या १५० नाघेको छ । शिशु वार्डमा रहेका ५०, बालसघन उपचार कक्षका १२, नवजात शिशु वार्डका १२का साथै श्यया भरिएर क्याबिनमा समेत बच्चा राखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसमेत रहेका वरिष्ठ बालरोग विशेषज्ञ डा. विश्वबन्धु बगालेले बिरामीको सङ्ख्या बढेको बताउँदै उक्त विभागमा विज्ञ चिकित्सक रहेकाले उच्च सतर्कता अपनाई अस्पताल आएका बिरामीको उपचार गर्ने काम भइरहेको बताए । उनले बच्चालाई गर्मीबाट बचाउन घाममा खेल्न नदिइ शीतल ठाउँमा राख्न र पानीलगायत पेय पदार्थ खुवाउन तर बजारीया तयारी खाना, सडेगलेको खानेकुरा र पानीपुरी, चटपट र विषादी प्रयोग गरिएका फलफूल नखुवाउन सुझाव दिए ।
सरकारी अस्पतालसँगै यहाँका दुई मेडिकल कलेज र २० भन्दा बढी निजी अस्पतालमा पनि बिरामी बालबालिकाको सङ्ख्या बढेको छ ।