
सर्लाही – मंगलवार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा २ जना घाइते भएका छन् ।
मंगलवार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा १ र मलंगवा नगरपालिका–१२ गम्हरीयामा १ गरी २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हावाहुरीले ब्रह्मपुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ ।
मलंगवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने १ जना कामदार घाइते भएका छन् । घाइते हुनेमा महोत्तरी जिल्ला परौल–६ बर्दिया घर घई हाल मलंगवा–१२ गम्हरीया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
अहिले दुवै घाइतेकोे उपचार सर्लाही जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । अत्यधिक तेजगतिको हावाहुरीले बालीनालीमा समेत क्षति गरेको किसानले जनाएका छन् । हावाहुरीले तरकारीबाली र आँपलाई बढी क्षति पुर्याएको चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिए ।
यसैबीच करेन्ट लागेर सर्लाहीको रामनगर गाउँपालिकामा १ बालकको ज्यान गएको छ । रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको ५ वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको हो । टेबुलमाथि राखिएको पंखाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।