![रोग होइन सेतो दुबी, यसरी सम्भव छ उपचार [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/dr._Dharmaendra_karna_BjSiw0Y4DY.jpg)
काठमाडौं – विश्व सेतो दुबी दिवसको अवसरमा मंगलवार राजधानीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सेतो दुबीका बारेमा समाजमा रहेका अविश्वासहरूलाई चिर्नका लागि क्युटिज केयर नामक संस्थाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा छाला रोग विशेषज्ञ डा. धमेन्द्र कर्णले दुबी रोग के हो, यसको कसरी उपचार गर्न सकिन्छ ? भन्ने विषयमा प्रस्तुती दिएका दिए ।
‘सेतो दुबी रोग होइन । विज्ञानले यसलाई रोगको रूपमा लिएको छैन । हाम्रो देशसहित एसियामा यसलाई नराम्रो रूपमा लिइए पनि पश्चिमा देशहरूमा यसलाई सामान्य रूपमा नै लिइन्छ,’ डा. कर्णले भने ।
मानिसको शरीरमा कुनै न कुनै किसिमको रंग हुन्छ । आमाको पेटमा विकास हुँदा एक किसिमको कोष बन्छ, जसलाई विज्ञानको भाषामा ‘मेलानोसाइट’ भनिन्छ । उक्त कोषले मेलालिन नामको केमिकल बनाउँछ ।
यसले पूरै शरीरमा रंग भर्ने काम गर्दछ । यसरी मेलालिन उत्पादन नभएको ठाउँमा कुनै रंग नआएर सेतो देखिने हुन्छ । त्यसलाई नै सेतो दुबी भन्ने गरिएको चिकित्सकहरू बताउँछन् ।
के हो सेतो दुबी ?
यो छालमा हुने एक प्रकारको समस्या हो । शरीरमा छालालाई रङ दिने कोषहरूको कमी भएर यो समस्या देखा पर्ने गर्छ । हरेक मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ ।
त्यो क्षमता कहिले काहीँ बढी भएर आफ्नै शरीरविरुद्ध काम गर्ने गर्छ र छालालाई रङ दिने कोषहरूलाई नष्ट पार्छ । सेतो दुबी जुनसुकै उमेर समूहका मानिसहरूमा पनि देखा पर्छ ।
१० देखि २० र ४० देखि ५० का मानिसहरूमा बढी देखा पर्छ । यो दुख्ने पोल्ने केही पनि नहुने हुनाले विज्ञानले यसलाई रोगको रूपमा लिएको छैन ।
कुन अंगमा देखा पर्छ ?
सेतो दुबी प्रायः जसो शरीरको चलिरहने अङ्गमा देखा पर्छ । जस्तै आँखा, ओठ, कम्मर, कुइनो, घुँडा आदि । यो अरूलाई सर्दैन, तर आफ्नै शरीरका अन्य ठाउँमा भने फैलन सक्छ ।
के छ उपचार ?
सेतो दुबी दुई प्रकारले उपचार गर्न सकिन्छ । एउटा खाने लगाउने र घाममा सेकाउने हुन्छ भने अर्को मेसिनमा सेक्ने जसलाई फोटो थेरापी भनिन्छ । यो प्रविधि सुरक्षित हुन्छ । गर्भवती महिला र भर्खरै जन्मेको बच्चालाई पनि यो प्रविधि प्रयोग गर्न सकिन्छ ।