काठमाडौं – रोशन परिवारमा चलिरहेको विवादका विषयमा अभिनेत्री कंगना रनावतकी बहिनी रंगोलीले नयाँ दाबी गरेकी छन् ।
उनका अनुसार, हृत्तिक रोशनकी बहिनी सुनयनाले विगत एक महिनामा कंगनालाई लगातार फोन गरेर आफूलाई आफ्नो परिवारले भावनात्मक तथा शारीरिक यातना दिएको बताउने गरेकी थिइन् ।
सुनयनाका प्रेमी भनिएका रुहेल अमीनको प्रतिक्रियापछि रंगोलीको यो भनाइ आएको हो ।
रंगोलीले ट्विटरमा लेखिन्, ‘एक महिनादेखि रंगोलीले मसँग फोनमा कुरा गरिन् अनि रोइरहिन् । उनले मिडियासँग कुराकानी गरेदेखि उनको फोन बन्द छ । परिवारले आफूलाई पिट्ने गरेको र बेहोश राख्ने गरेको उनले बताउँथिन् । म
असहाय अनुभव गरिरहेकी छु । के गरूँ, बुझ्न सकिरहेकी छैन ।’
एक अंग्रेजी न्युज वेबसाइटसँगको कुराकानीमा रूहेलले रोशन परिवार धर्मका कारण उनलाई उग्रवादी बताइरहेको भने । अमीन पत्रकार हुन् र उनले भने, ‘मेरो धर्मका विषयलाई लिएर मलाई उग्रवादी भन्नु दुर्भाग्यपूर्ण छ । यो मेरो अपमान हो र यसको कठोर शब्दमा निन्दा गरिनुपर्छ । हामीले अज्ञानी दृष्टिकोणविरुद्ध उभिनु जरूरी छ ।’
केही दिनअघि सुनयनाले पत्रिकामा अन्तर्वार्ता दिँदै मुसलमान केटासँग प्रेम गरेको भन्दै परिवारले आफूलाई यातना दिने गरेको आरोप लगाएकी थिइन् ।
एजेन्सी