०५ असार २०८३, शुक्रबार

राजनीति नगर्ने घोषणा गर्दै एमाले, माओवादी र कांग्रेस निकट कर्मचारीबीच एकीकरण

राजनीति नगर्ने घोषणा गर्दै एमाले, माओवादी र कांग्रेस निकट कर्मचारीबीच एकीकरण
प्रतिकात्मक तस्वीर

भद्रपुर – कर्मचारीले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत संगठनलाई कुनै पनि राजनीतिक दलको भातृ संगठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका ३ वटा कर्मचारी संगठन एकीकरण भएका छन् ।

एकीकरण भएका संगठनमा तत्कालीन नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, तत्कालीन नेकपा एमालेको भातृ संगठन नेपाल स्वतन्त्र कर्मचारी संगठन र नेपाली कांग्रेसको भातृ संगठन नेपाल वित्तीय कर्मचारी संघ रहेका छन् ।

३ वटै संगठनले राजनीति नगर्ने आचारसंहिता पारित गर्दै केही दिनअघि संयुक्त महाधिवेशनसमेत सम्पन्न गरेका छन् भने एकीकृत संगठनको नाम ‘एकीकृत कर्मचारी संगठन सहारा नेपाल’ (साकोस) हुने निर्णय गरेका छन् ।

सहारा नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथरमा कार्यक्षेत्र रहेको छ र सदस्य संख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था हो । यसका सदस्यको संख्या १ लाख ५० हजार र कर्मचारी संख्या ७ सय रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्ष मोतिखर सञ्जेलले जानकारी दिए ।

नेपाल स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष भवानी सुवेदी, नेपाल वित्तीय कर्मचारी संघका अध्यक्ष शेरबहादुर कटुवाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष मोतिखर सञ्जेलले संगठन एकीकरणमा संयुक्त हस्ताक्षर गरेका छन् ।

संयुक्त महाधिवेशनले यादवप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष घिमिरेले विगतमा दलगत आधारमा कर्मचारी छुट्टाछुट्टै संगठित हुँदा संस्थाको भन्दा दलको स्वार्थमा बढी लाग्ने गरेको हुँदा त्यसबाट संस्थालाई नोक्सानी भएको निष्कर्षमा पुगेर लामो छलफलपछि ३ वटै संगठन अब उप्रान्त राजनीति नगर्ने सहमतिका साथ एकीकरण भएको बताए ।

झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्