२४ जेठ २०८३, आइतबार

चितवनमा सवारी जाँच कार्ययोजना शुभारम्भ

चितवनमा सवारी जाँच कार्ययोजना शुभारम्भ
प्रतिकात्मक तस्वीर

चितवन – जिल्लामा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को बुधवार शुभारम्भ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो ।

‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरू गरिएको अभियानको पहिलो दिन बुधवार भरतपुरको चौविसकोठीमा मोटरसाइकल चालकको बिलबुक र लाइसेन्स चेक गरिएको छ ।

अभियानलाई कडाइका साथ १ महिनासम्म सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले बताए । लाइसेन्स बिलबुक नहुने र नवीकरण नगर्ने, बढी भाडा लिने, निषेधित क्षेत्रमा हर्न बजाउने, सिट बेल्ट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई निरुत्साहित गर्न अभियान चलाइएको उनले जानकारी दिए ।

‘दैनिक फरक–फरक क्षेत्रमा अभियान सञ्चालन हुन्छ,’ उनले भने, ‘बिहान, दिउँसो र रातको समयमा चेकजाँच नियमित चल्नेछ ।’ राजधानी काठमाडौं र पूर्वपश्चिम जाने हजारौं सवारीसाधन चितवन भएर गुड्ने गर्छन् । सवारी साधनको चाप बढेकाले पनि दैनिक हुने दुर्घटनाबाट मानिसको अकालमा ज्यान जाने गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार यो आर्थिक वर्षको ११ महिनामा चितवनमा २ सय ५३ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ सय ३७ जनाको मृत्यु भएको छ भने ५ सय ३३ जना घाइते भएका छन् ।

जिल्लाको भित्री सडकमा सबैभन्दा धेरै दुर्घटना भएको गिरीले बताए । उनले मोटरसाइकल धेरै दुर्घटनामा पर्ने गरेको जानकारी दिए । ११ महिनामा कार्यालयले २ करोड ८० लाख ९ हजार ५ सय राजस्व संकलन गरेको छ । 

चितवनमा ट्राफिक जनशक्तिको अभावमा प्रभावकारी काम गर्न समस्या परेको ट्राफिक प्रहरीको गुनासो छ । ३१ जनाको दरबन्दी रहेको चितवनमा बढ्दो सवारीसाधनको चापअनुसार १ सय ट्राफिक आवश्यक पर्ने प्रमुख गिरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्