
बुटवल – अपहरणमा परेकी ६ वर्षीया नाबालिकालाई प्रहरीले २ दिनपछि सकुशल रुपमा उद्धार गरेको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई २ दिनअघि अपहरण गरिएको थियो ।
अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई बुटवल उपमहानगरपालिका–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेस्टुरेन्टको कोठा नम्बर १०३ बाट उद्धार गरिएको हो ।
प्राप्त सूचनाका आधारमा बालिकालाई कोठामा लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुधवार बिहान करीब साढे ७ बजेको समयमा होटलमा छापा मारेर उनलाई सकुशल उद्धार गर्नाका साथै अपहरणकर्ता वीरगञ्ज महानगरपालिका–२७ का जयराम दासलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
अपहरणकारी दास विगत ९ महिनादेखि पीडितको घर नजिकै रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए । सोही क्रममा अपहरित बालिकाकी आमा मञ्जु थापासँग चिनजान भएको थियो ।
सामान्य चिनजानकै आधारमा दासले विवाहको प्रस्ताव राख्दा महिलाले अस्वीकार गरेपछि घरमा सावित्री थापाका पति टेकबहादुर थापा नभएको मौका छोपेर उनले सोमवार साँझ करीब ८ बजेको समयमा नाबालिकालाई जबरजस्ती अपहरण गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।