
काठमाडौं – प्रख्यात फूटबलर लियोनेल मेस्सी जस्तै देखिने एक इरानीले २३ जना महिलालाई झुक्याएर उनीहरूसँग सुतेको आरोप खण्डन गरेका छन् ।
रेजा पारातेशलाई इरानका मेस्सी भनी चिन्ने गरिएको छ । उनले स्पेनी पत्रिका मार्कामा अनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूविरुद्धका सबै आरोपको खण्डन गरेका हुन् ।
इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै पारास्तेशले भने, ‘साथीहरू, मेरो बारेमा सामाजिक सञ्जालमा झूटो खबर फैलिरहेको छ । लियोनेल मेस्सी भन्ठानेर मसँग २३ जना महिला सुते रे भनी खबर फैलाइएको छ । कृपया मानिसहरूको सुनाम र विश्वसनीयतासँग नखेल्नुस् ।’
यसै साताको शुरूतिर पारास्तेशलाई उनीविरुद्धको आरोपका बारेमा थाहा लाग्यो र उनी स्पष्टीकरण दिँदै हिँडेका छन् ।
यस्तो हल्ला फैलिएपछि आफूले निकै तीतो अनुभव गरेको उनले बताए ।
‘यो खबर फैलिएपछि सारा संसार मविरुद्ध खनियो । मेरो परिवारले पनि मलाई सतायो तर मानिसहरूले गरेको आक्रमण चाहिँ निकै कठोर थियो ।’
पारास्तेशले मेस्सी जस्तै देखिएर इन्स्टाग्राम पेज प्रमोट गर्ने गरेका छन् । उनका लगभग ७ लाख फलोअर छन् ।
एजेन्सी