
धनगढी – मुक्त भएको ५ वर्षपछि मुक्तकमलरीले परिचयपत्र पाउन थालेका छन् ।
असार १ गतेदेखि जिल्ला मालपोत कार्यालयहरूबाट परिचयपत्र वितरण गर्न थालेपछि मुक्तकमलरीहरू उत्साहित भएका छन् । परिचयपत्र साउन १० गतेसम्म वितरण गरिने भएको छ ।
२०७० साल असार १३ गते मन्त्री परिषदको निर्णयले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीहरूलाई मुक्त घोषणा गर्ने निर्णय गरेको थियो । भने साउन २ गते मुक्त घोषणा गरेको हो । तर सरकारले घोषणा गरेपनि उनीहरूलाई परिचयपत्र भने वितरण गर्न सकेको थिए ।
मुक्त घोषणा गरेको लामो समयपछि परिचयपत्र वितरण हुन थालेपछि पूर्वकमलहीहरूमा खुशीको सीमा नै छैन । उनीहरू काखमा बच्चा च्यापेर भएपनि जिल्ला मालपोत कार्यालय धनगढीमा दिनभरी लाइनमा बसेर भएपनि परिचयपत्र लिइरहेका छन् । हाल मालपोत कार्यालयमा जिल्लाका विभिन्न स्थानबाट परिचयपत्र लिन पुगेका पूर्वकमलरीहरूको भीड रहेको छ ।

कैलालीको जानकी गाउँपालिका–९ दुर्गौलीकी मोनिका चौधरीले परिचयपत्र पाउँदा खुशी लागेको बताइन् । २ वर्ष जमिनदारको घरमा कमलरी बसेको बताउँदै उनले परिचयपत्रले आफ्नो पहिचान खुल्ने र राज्यको सेवा सुविधा हाँसिल गर्नमा सहज हुने भन्दै खुशी व्यक्त गरिन् ।
काखमा बच्चा च्यापेर मालपोत कार्यालय पुगेकी दुर्गौलीकै दिपु चौधरीले पनि परिचयपत्रले आफ्नो मात्रै नभई सन्तानको भविष्य निर्माण सहयोग गर्ने बताइन् ।
ढिलै भएपनि सरकारले परिचय वितरण गरेकोमा उनी पनि खुशी व्यक्त गरिन् ।
जिल्ला मालपोत कार्यालय धनगढीका कमैया/कमलरी फाँटका प्रमुख अमर चौधरीले असार १ गतेदेखि परिचयपत्र वितरण गर्न थालेको बताए । लगत संकलनमा परेका दैनिक सयौं पूर्वकमलरी परिचयपत्र वितरण गरिरहेको उनले जानकारी दिए । कैलालीमा मात्रै २ हजार ७६७ जना पूर्वकमलरीहरू रहेका छन् ।
असार १ गतेदेखि नै कैलालीसहित तराईका कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लास्थित मालपोत कार्यालयहरूबाट परिचयपत्र वितरण भैरहेको जनाइएको छ । मुक्तकमलरी विकास मञ्च कैलालीकी अध्यक्ष विष्णा चौधरीले ५ जिल्लाका १२ हजार ७ सय मुक्तकमलरीलाई परिचयपत्र वितरण भैरहेको जनाइन् ।

परिचयपत्रको आधारमा पूर्वकमलरी भएको पहिचान खुल्ने भएकोले परिचयपत्रको आधारमा पनि उनीहरू हरेक सेवा सुविधामा अग्रअधिकार पाउने जनाइएको छ ।
अध्ययन छात्रबृति, सरकारी सेवा सुविधामा प्राथमिकता, क्षमता अभिवृद्धि र सशक्तिकरणको कार्यक्रमलगायतमा कमलरी परिचयपत्रको आधारमा प्राथमिकतामा राखेर सहभागिता गराइने भएकोले परिचयपत्र महत्वपूर्ण रहेको कमैया फाँटका प्रमुख चौधरीले बताए ।
के हो कमलरी प्रथा ?
केही वर्ष अगाडिसम्म तराईका ५ जिल्लास्थित थारू समुदायका बालिकाहरूलाई अर्काको घरमा बँधुवा बाल मजदूर राख्ने गरिन्थ्यो । सो प्रचलनलाई कमलरी प्रथा भनिन्थ्यो । सो क्रममा कमलरी बालिकाहरू यौन तथा श्रम शोषणको सिकार भएका थिए । सो प्रथाको अन्त्य गर्दै राज्यले कमलरी मुक्तिको घोषणा गरेको हो ।