
काठमाडौं- गोर्खा ब्रुअरीले देशभरका तीन सय बार स्टाफलाई बियर उत्पादन, बियर भण्डारण तथा गुणस्तरीय सर्भिङको तालिम दिएको छ । कम्पनीले उपभोक्तालाई गुणस्तरीय बियर स्वाद अनुभव गराउनका लागि बियर सर्भ गर्नेहरूको क्षमता अभिवृद्धि गरेको हो ।
कम्पनीले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टसँगको सहकार्यमा तालिम दिन थालेको हो । तालिममा सहभागीलाई बियर उत्पादनदेखि भण्डारण र सर्भिङसम्मको बारेमा सम्पूर्ण जानकारी गराइएको थियो । तालिममा सहभागीले बियर बन्नका लागि आवश्यक सामाग्री, उत्पादन प्रक्रिया, प्रकार आदिबारे पनि सिकेका छन् । साथै बियर भण्डारण गर्नुपर्ने उचित तरिका, ग्लास सफा गर्ने तरिका बारे पनि सिकाइएको थियो ।
सो तालिम कार्यक्रमको नाम ‘एक्सबियरियन्स’ रहेको छ । जसमा सहभागीले कार्ल्सबर्ग बियर एकेडेमिको अन्तर्राष्ट्रिय पाठ्यक्रमअनुसार बियरबारे ज्ञान पाउँछन् । तालिममा एक सातामा २० बार स्टाफहरू सहभागी हुने गरेका छन् ।
सोही तालिम कार्यक्रमको एड्भान्स कोर्सको रूपमा कम्पनीले कार्ल्सबर्ग बियर एकेडेमीकी प्रशिक्षक सिग्रिड स्ट्रेटवर्नलाई नेपाल ल्याएको थियो । उनले दिएको सो तालिम कार्यक्रम ‘बियर इन्थुसियास्ट ट्रेनिङ’ ।
कम्पनीले यस किसिमको कार्यक्रमका माध्यमबाट बार स्टाफको दक्षता विकास तथा सुधार गर्ने लक्ष्य लिएको छ । यसका कारण उनीहरूले सर्भ गर्ने तरिका अन्तर्राष्ट्रिय स्तरको हुने कम्पनीको दाबी छ । गोर्खा ब्रुअरीले आगामी दिनमा सबै सहभागीलाई बियर र हस्पिटालिटीको अन्य विषयमा ज्ञान दिने योजना बनाएको छ ।
'नेपालको बार स्टाफको सीप विकास गरी वियर उपभोक्तालाई बियरको वास्तविक अनुभव लक्ष्यअनुसार यो कार्यक्रम शुरू गरिएको हो,' गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले जनाए । उनका अनुसार गोर्खा ब्रुअरी जस्तो प्रिमियम गुणस्तरको बियर उत्पादन कम्पनीका लागि सही अनुभव एकदमै अपरिहार्य छ । उनले यो कार्यक्रमबाट राम्रो प्रतिक्रिया मिलेकोले यसलाई अझै ठूलो बनाउने हौसला मिलेको बताए ।
उनका अनुसार कतिपय आउटलेटले आफ्नै आउटलेटमा आएर यस्तो ट्रेनिङ दिन आग्रह गरेका छन् । शर्माले भने, 'एकपटकको तालिम भन्दा पनि हामी दिन दिनै उहाँहरूलाई ज्ञान र सीप सुधार्नेमा तत्पर छौं ।' गोर्खा ब्रुअरीले तालिम लिएका सबै स्टाफसँग सम्पर्कमा रहेर नियमित रूपमा ज्ञानको स्तरलाई अपडेट गर्दै लाने योजना बनाएको छ ।
गोर्खा ब्रुअरीले आफ्नो योजनाअनुसार यस किसिमको तालिम देशैभर आयोजना गर्ने बताएको छ । यसलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कम्पनीले सन् २०१९ को अन्त्यसम्म १ हजार जनालाई र अर्को वर्ष २ हजार बार स्टाफलाई तालिम दिने कम्पनीले जनाएको छ ।