
चितवन- सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्त्व विङ सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । नारायणघाटको रत्ननगरस्थित श्री विन्देश्वरी आधारभूत विद्यालयमा विगत ७ वर्षदेखि अध्ययनरत चेपाङ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
सिप्रदीयन सहायता संस्थाले ती चेपाङ विद्यार्थीहरूलाई विगत ७ वर्षदेखि पढाइ र छात्रावासमा रहन आवश्यक पर्ने खानेकुरा, कापीकलम, बिछ्यौना, लत्ताकपडाहरू उपलब्ध गराउँदै छ । ती चेपाङ विद्यार्थीहरूले कक्षाकोठा र विद्यालय तथा क्षेत्रीय स्तरमा आयोजना हुने अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् र माध्यमिक परीक्षा एसईईमा पनि चेपाङ विद्यार्थीहरू उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका छन् ।
श्री विन्देश्वरी आधारभूत विद्यालयमा आयोजित एक विशेष समारोहमा जेसिस रत्ननगरका पूर्वअध्यक्ष समेत रहेका टाटा योद्धा ग्राहक श्री उमेश गिरीले चेपाङ विद्यार्थीहरूलाई सिप्रदीयन सहायता संस्थाको तर्फबाट १३ लाख ७४ हजार रुपैयाँ हस्तातन्तरण गरे । सफल मोर्टसका प्रोपाइटर तथा टाटा मोटर्सका क्षेत्रीय वितरक श्री गोपाल भट्टराई पनि सो समारोहमा उपस्थित थिए ।
सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि रजत श्रेष्ठले भने, 'सन् २०१२ मा स्थापना भएदेखि नै सिप्रदीयन सहायता संस्था शिक्षाको क्षेत्र कार्य गर्दै आएको छ । हामीले विभिन्न समुदायका आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । शिक्षा प्राप्त गर्न पाउने सबैको अधिकार हो र हाम्रो लक्ष्य भनेको आर्थिक रूपमा कमजोर भएकै कारण विद्यालय छाड्नुपर्ने विद्यार्थीहरूको संख्या कम गर्ने हो । र हामी चेपाङ विद्यार्थीहरूको सफलता र उपलब्धीहरूलाई देखेर निकै खुशी छौं ।'

सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रिय सहयोग र योगदान गर्दै आएको छ । हालै सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट इन्डियासँग साझेदारी गरी वि.सं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी र अत्याधुनिक सिन्धुपालचोक जिल्लास्थित श्री कुपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गर्यो ।
सो विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माणको जिम्मेवारी सिप्रदीयन सहायता संस्थाले लिएको छ । अहिलेसम्म तीनवटा विद्यालयहरूको पुनर्निमार्ण सम्पन्न भइ हस्तान्तरण गरिसकिएको छ भने बाँकी विद्यालयहरूको पनि पुनर्निमार्ण अन्तिम चरणमा पुगेको छ ।
सन् २०१२ मा स्थापना भएको सिप्रदी सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्नका लागि सिप्रदी सहायता संस्थाको स्थापना गरिएको हो ।
संस्थाले योग्य तर आर्थिक रूपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ ।
संस्थाले जेष्ठ नागरिकहरू, टुहुरा बालबालिकाहरू तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सेवा र सहयोग हरसम्भव पुर्याउने लक्ष्य लिएको छ । यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।