०७ असार २०८३, आइतबार

डेनमार्ककी सबभन्दा कान्छी प्रधानमन्त्रीले बनाइन् मन्त्रिपरिषद्

डेनमार्ककी सबभन्दा कान्छी प्रधानमन्त्रीले बनाइन् मन्त्रिपरिषद्

काठमाडौं – डेनमार्ककी नयाँ प्रधानमन्त्री मेट्टे फ्रेडेरिकसनले तीनवटा साना वामपन्थी दलहरूको समर्थन प्राप्त गरेपछि मन्त्रिपरिषद् घोषणा गरेकी छन् । 

जम्मा ४१ वर्षको उमेरमा फ्रेडेरिकसन डेनमार्ककी सबभन्दा कान्छी प्रधानमन्त्री हुन् । सोसियल डेमोक्रेटिक दलकी नेताले पार्टीका दोस्रो वरीयताका निकोलाइ वाम्मेनलाई अर्थमन्त्री बनाएकी छन् भने निक हाएक्केरुप न्यायमन्त्री बनेका छन् । 

नियन्त्रणकारी आप्रवासी नीति अपनाएर सोसियल डेमोक्रेटहरूले जेठ २० मा सम्पन्न आमचुनाव जितेका थिए । तर उनीहरूले बहुमत ल्याउन सकेनन् त्यसैले साना वामपन्थी दलको सहयोग लिनुपरेको छ । 

यस वर्ष वामपन्थी सरकार बनाउने डेनमार्क तेस्रो नर्डिक मुलुक बनेको छ । सोसियल डेमोक्रेटिक पार्टीहरू फिनल्यान्ड र स्विडेनमा पनि सत्तामा छन् । 

फ्रेडेरिकसेनले बहालवाला प्रधानमन्त्री लार्स लोक्के रासमुसेनलाई हराएकी हुन् । उनी सन् २०१५ देखि सत्तामा थिए । 

डेनमार्कमा प्रायः अल्पमतकै सरकार बन्ने गरेका छन् । अहिले पनि नयाँ सरकार गठन गर्नका लागि जलवायु परिवर्तन, अर्थतन्त्र र आप्रवासी नीतिका विषयमा दलहरूले सम्झौता गर्नुपरेको थियो । चुनाव सकिएको तीन हप्तासम्म चलेको वार्तापछि सोसियल डेमोक्रेट्स र तीनवटा वामपन्थी दलबीच १८ पृष्ठ लामो सम्झौता भएको थियो । 

फ्रेडेरिकसेनले कल्याणकारी राज्यको प्रतिरक्षा र जलवायु परिवर्तन रोक्ने काम आफ्नो शीर्ष एजेन्डा भएको बताइन् ।

एजेन्सी 

कमेन्ट गर्नुहोस्