काठमाडौं – भारतको नागपुर विश्वविद्यालयमा तीनजनाले दुई दिन चियाखाजामा डेढ लाख भारु (लगभग साढे २ लाख रुपैयाँ) खर्च गरेका छन् ।
विश्वविद्यालयको बोर्ड अफ स्टडीज बैठकमा तीनजनाले चिया, कफी र खाजामा त्यति धेरै रकम उडाएका हुन् । बिल हेर्दा तीनजनाले ९९ कप चिया र २५ कप कफी पिएको देखिन्छ ।
चियाकफीको बिल विश्वविद्यालयका उपकुलपति एसपी कानेकहाँ पुग्दा उनी छक्क परे । उनले बिल स्वीकृत गर्न मानेनन् र अर्थ विभागले पनि यसमा अनुसन्धान शुरू गर्यो । लेखाप्रमुख राज हिवासेकहाँ बिल आउँदा उनले उपकुलपतिसमक्ष गुनासो गरेका थिए ।
हिवासेले बिल सम्बन्धित विभागलाई फर्काएका छन् । चियाकफीको बिल यति धेरै कसरी आयो भनी स्पष्टीकरण मागिएको छ । बिल सही भएमा त्यसलाई साबित गर्न पनि भनिएको छ ।
उपकुलपतिका अनुसार, बोर्ड अफ स्टडीजको बैठक अघिल्लो महिना विश्वविद्यालयको पाठ्यक्रम र शैक्षिक सत्रका विषयमा बसेको थियो । बैठकमा बोर्ड सदस्यहरूका लागि विश्वविद्यालयले चियाखाजाको व्यवस्था गरेको थियो ।
एजेन्सी