काठमाडौं – लोकसभा चुनावमा बेइज्जतीपूर्ण हारपछि राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएको एक महिना बितिसकेको छ । तर कांग्रेसका दिग्गज नेताहरूले हारको जिम्मेवारी लिँदै राजीनामा दिने कुरा झिकेका छैनन् ।
त्यसैले बुधवार राहुलले युवा कांग्रेस नेताहरूसँग भेटघाटका क्रममा आफूले राजीनामा दिँदा पनि कांग्रेसको शासनमा रहेका केही राज्यका मुख्यमन्त्री, महासचिव र वरिष्ठ नेताहरूले उत्तरदायित्वको अनुभव नगरेको बताए ।
राहुलले मे २५ मा भएको कांग्रेस कार्यसमिति बैठकमा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथप्रति विशेष आक्रोश देखाएका थिए । यी दुई राज्यमा कांग्रेसको पूर्ण सफाया भएको थियो ।
अहिले फेरि राहुलले यो कुरा झिकेकाले मध्य प्रदेश र राजस्थानका मुख्यमन्त्रीहरूमाति दबाब बढेको छ । त्यसैले कमलनाथले बिहीवार भने, ‘राहुल गान्धी सही छन् । यसका लागि को जिम्मेवार छ, मलाई थाहा छैन । तर मैले पहिले पनि राजीनामाको प्रस्ताव गरेको थिएँ । म हारका लागि जिम्मेवार छु ।’
अहिले राजस्थान, मध्य प्रदेश, पञ्जाब र छत्तीसगढमा मात्र कांग्रेसको सरकार छ । केन्द्रले शासन गर्ने पुडुचेरीमा पनि उसको सरकार छ । तर पञ्जाब र पुडुचेरी बाहेक अन्त कतै पनि उसले लोकसभामा राम्रो प्रदर्शन गर्न सकेन ।
राजस्थानमा अशोक गहलोत र मध्य प्रदेशमा कमलनाथले आफ्ना छोराहरूलाई टिकट दिन जोड दिए अनि पार्टीलाई भन्दा पनि आआफ्नो छोरालाई जिताउन मेहनत गरे । त्यसैले पनि पार्टीको बेइज्जतीपूर्ण हार भयो ।
राहुल गान्धीले यही कुरा उठाएर दुई मुख्यमन्त्रीको झाँको झारेका थिए । राहुलले अहिले नेताहरू जवाफदेही हुनुपर्ने भनेपछि मध्य प्रदेश र राजस्थानमा मुख्यमन्त्री बदलिने अनुमान हुन थालेका छन् ।
एजेन्सी