
काठमाडौं – बिहेमा दुलाहा दुलहीका साथीभाइ र नातेदारले नाचेको त सामान्य कुरा हो । तर कुकुरले आफ्नी मालिक्नीको बिहेमा बेस्सरी नाचेको घटना पनि सार्वजनिक भएको छ ।
अमेरिकाको लास भागेसमा कुकुर प्रशिक्षक सारा कार्सन डिभाइनले आफ्ना प्रेमी प्रशिक्षक जोन डिभाइनसँग विवाह गरेकी थिइन् । बिहेमा उनको कुकुर मज्जैले नाच्यो ।
कुकुर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।सारा आफैंले भिडियो सामाजिक सञ्जालमा राखेकी हुन् ।
भिडियोमा सारा र उनको कुकुर फ्रीस्टाइलमा नाचेको देखिन्छ । साराले दुई हातले गोलो बनाउँदा कुकुर त्यसभित्रबाट नाघेको पनि देख्न सकिन्छ ।
भिडियो हेर्दाहेर्दै भाइरल भयो अनि एक करोडभन्दा बढी मानिसले यसलाई हेरिसके ।
साराले बताइन्, ‘मैले ठूलो र भारी वस्त्र लगाएकी थिएँ । त्यसैले म नर्भस थिएँ । हामीले विवाहमा प्रस्तुति दिनका लागि अभ्यास पनि गरेका थिएनौं । तर कुकुरले मेरो बिहे यादगार बनायो ।’
साराले अमेरिकाज गट ट्यालेन्ट टेलिभिजन शोमा आफ्नो कुकुरका साथ प्रस्तुति दिइसकेकी छन् ।
एजेन्सी