
काठमाडौं – मुखमा कुटिल मुस्कान राखेर चोर औंलो तेर्स्याउँदै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकाको चुनावमा हस्तक्षेप नगर्न भनेका छन् ।
जापानमा भइरहेको जी–२० शिखर बैठकमा एक पत्रकारले ट्रम्पलाई तपाईं पुटिनलाई चेतावनी दिनुहुन्छ कि भनी सोधे ।
उनले ‘अवश्य’ भनी उत्तर दिए अनि पुटिनतिर फर्किएर भने, ‘चुनावमा हस्तक्षेप नगर्नुस् ।’ उनले जिस्कँदै यो अनुरोध गरे र पुटिनतिर औंलो तेर्स्याए । पुटिन हाँसे ।
ट्रम्पले पुटिनसँग अत्यन्तै राम्रो सम्बन्ध भएको र यस सम्बन्धबाट धेरै सकारात्मक कुराहरू आउने बताए ।
दुई नेताहरूले हतियार नियन्त्रणको एक्काईसौं शताब्दीको नमूनाका बारेमा कुरा गरिरहने सहमति गरेको पछि ह्वाइट हाउसले जनायो । यो कुराकानीमा चीनलाई पनि संलग्न गर्नुपर्ने ट्रम्पको भनाइ छ । उनीहरूले इरान, सिरिया,
भेनेजुएला र युक्रेनको परिस्थितिका बारेमा पनि कुराकानी गरे ।
एजेन्सी