
हेटौंडा – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलकोे नेतृत्व गर्दै लान्झाउ शहरमा असार १८ गते प्रस्थान गर्ने भएका छन् ।
मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जुलाई ४ देखि ८ तारिखमा आयोजना हुने २५ औं लान्झाउ लगानी तथा व्यापार सम्मेलनको उद्घाटन समारोहमा सम्मिलित हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रवार जनाएको छ ।
उनका साथमा प्रदेशसभाका सदस्य राधा घले, जुनेली श्रेष्ठ र कञ्चन खनाल एवम् मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतसहित ७ जनाको प्रतिनिधिमण्डल जाने मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देवीप्रसाद गौतमले बताए ।
मुख्यमन्त्री पौडेलसहितको प्रतिनिधिमण्डल असार २३ गते साँझ स्वदेश फर्कने जनाइएको छ ।