१८ असार २०८३, बिहीबार

राजस्व छली गर्ने ३ जनाविरुद्ध मुद्दा

राजस्व छली गर्ने ३ जनाविरुद्ध मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित ३ जनाविरुद्ध ४ करोड ६४ लाख ४३ हजार जरिवाना तथा ३ वर्ष कैद माग दाबीसहित शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गंगाबहादुर घिमिरेले मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, तथा उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार घोषणा गरी कर छली गरेकाले मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

राजस्व चुहावट गर्ने कार्यमा दीपेन्द्रराज पाण्डेले भन्सार एजेन्टको प्रतिनिधि भई कार्य गरेकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार उनी विरुद्धसमेत मुद्दा चलाइएको मैनालीले जानकारी दिए ।

अनुसन्धानमा मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालवस्तुलाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनि पैठारी गरेर राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले २ करोड ३२ लाख २१ हजार बिगो बराबरको मालवस्तु जफत गरी सोको दोब्बर हुने ४ करोड ६४ लाख ४३ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष कैद माग दाबी गरिएको जनाएको छ ।

उनीहरूले मेची भन्सार कार्यालयबाट जाँचपास गराई पैठारी गरेका जुत्ता उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा चीन मात्र उल्लेख गरेको तथा ख्यातिप्राप्त ब्रान्ड अन्य माल वस्तुसमेत राजस्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार देखाइ कर छल्ने प्रपञ्च रचेको विभागको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्