०३ असार २०८३, बुधबार

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’ : अध्यक्ष तिमिल्सिना

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’ : अध्यक्ष तिमिल्सिना

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व. मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सार्नुभएको बताउनुभएको छ । 

भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउण्डेसन नेपाल कास्की’ले शुक्रबार आयोजना गरेको ‘मदन भण्डारी साँझ’को उद्घाटन गर्दै उनले प्रतिस्पर्धात्मक क्षमताबाट श्रेष्ठता हासिल गर्ने, पार्टीलाई लोकतान्त्रिकरण गर्ने, कार्यकर्ताको भावनाअनुसार नेतृत्व चयन गर्ने र चल्ने परिपाटीको शुरूवात भण्डारीले गरेको बताउनुभयो ।

‘हामीले जनताको बहुदलीय जनवाद भनेका छौं, मदन भण्डारीलाई सम्झिरहेका छौं, कम्युनिस्ट आन्दोलन अगाडि बढाउन उनले जुन विचार अगाडि सारे, त्यसमा पार्टी जीवन, आन्दोलन र समग्र राज्यसत्ताको लोकतान्त्रिकरणका प्रमुख तीन पक्ष छन्,’ उहाँले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले कम्युनिस्ट पार्टीले शान्तिपूर्ण आन्दोलनमार्फत जनताको साथबाट राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिन्छ र राज्य सत्ताको लोकतान्त्रिकरणका लागि आवधिक निर्वाचन र प्रतिष्पर्धामार्फत शासनसत्ता सञ्चालन गर्ने कुरालाई स्थापित गरेको उल्लेख गर्नुभयो ।

फाउण्डेशनका अध्यक्ष माधव बास्तोलाले स्व. भण्डारीले प्रतिपादित गरेको जबजको सिद्धान्तबाट नै करीब दुईतिहाइको मतसहित नेकपाले सरकारको नेतृत्व गरेकाले सो विचारलाई वडातहसम्म जनताको बीचमा लगिने र फाउण्डेशन गठन गरिने बताए ।

कार्यक्रममा कलाकार बद्री पङ्गेनी, प्रजापति पराजुली, तारापति सुवेदी, शंकर विरही गुरुङ, सरला पाण्डे, हास्य कलाकार राजाराजेन्द्र लगायतको प्रस्तुति रहेको थियो । सो अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका पोखरा विद्याश्रमका अध्यक्ष वसन्तकेशव पराजुली, राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, पर्यटन व्यवसायी हरि पौडेल र शिक्षासेवी गेहेन्द्रेश्वर कोइरालालाई अध्यक्ष तिमिल्सिनाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा ‘मैले चिनेको मदन भण्डारी’ विषयक अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिताका विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्