
काठमाडौँ–मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।
परराष्ट्रबारे विचाविमर्श
प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताएका छन् ।
मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले शनिबार राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफलमा उनले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताए ।
“मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ,” प्रधानमन्त्रीले भने ।
नेपाली जनतामा सार्वभौमसत्ता सम्पूर्णरुपमा आइसकेको अहिलेको अवस्थामा देशको आर्थिक–सामाजिक उन्नयनतर्फ अग्रसर वर्तमान सरकार राजनीतिक उपलब्धिको संरक्षण तथा सुशासन र विकासका निम्ति लागिपरेको उनले बताए ।
नेपाललले दुवै छिमेकीसँग अत्यन्त सन्तुलित सम्बन्ध कायम गरेको तथा नीति पनि तद्नुरुप नै अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले छिमेकमा कतैपनि तनाब नहोस् भन्ने चाहेको बताए । सबै समस्याको समाधान वार्ता र संवादका माध्यमबाट हुनुपर्ने नेपालको मान्यता पनि उनले बताए ।
नेपाल र भारतबीच सन् १९५० भएको शान्ति तथा मैत्री सन्धि तथा त्यसयता भएका सबै असमान सन्धि सम्झौतालगायत द्विपक्षीय सम्बन्धका समग्र विषयलाई समेटेर सुझावसहितको प्रतिवेदन तयार पार्न दुवै देशका प्रबुद्ध व्यक्ति सम्मिलित समूह (इपिजी)को प्रतिवेदन प्रस्तुतिको वातावरण शीघ्र तयार हुनेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा शनिबार वृक्षरोपण शुभारम्भ गरेका छन्। राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण गर्दै उनँले यसबाट काठमाडौँ उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताए ।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीयमन्त्री शक्तिबहादुर बस्नेत, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरेका थिए ।
चालू आर्थिक वर्ष २०७५÷७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार ७०० बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालू आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।
ओली–प्रचण्ड घोचपेच
पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए । कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली आइपुगे ।
मञ्च पुग्नासाथ ओलीले दाहालसँग हात मिलाए । त्यसलाई कार्यकर्ताले हुटिङका साथ स्वागत गरे । हल तालीको गडगडाहटले गुन्जियो । दुई अध्यक्षबीच बढेको अविश्वासका कारण उनीहरूले हात मिलाउँदासमेत कार्यकर्ताले लामो समय ताली बजाए ।
बोल्ने क्रममा दुई नेताबीच आपसमा छेडखानीसमेत चल्यो । दाहालले आधा घण्टा र ओलीले ५० मिनेट बोले । ‘जननेता’ स्व मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठीमा अध्यक्षद्वयका अतिरिक्त कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सूर्य चिहनबाटै चुनाव जितेका सांसद हृदयेश त्रिपाठीसहितका नेता वक्ताका रूपमा उपस्थित थिए ।
दुई अध्यक्षबीचको तिक्ततापूर्ण सम्बन्धको विषय सांसद त्रिपाठीले सुरुमै उठाए । नेकपा र सरकारको सफलतारअसफलताको विषय राजनीतिक कोर्ससँग जोडिएको भन्दै उनले दुई नेतालाई मिल्न सचेत गराए । ‘उहाँहरू निर्वाचनपछि यति ठूलो बन्नुभयो कि आफ्नो क्षेत्रफल कति हो भन्ने थाहा नभए जस्तो छ । अहिले धेरै जञ्जालमा पर्नुभयो, अरूले त उहाँहरूलाई कलाकार पनि भन्छन्,’ त्रिपाठीले भने, ‘पार्टी एकीकरण र सरकारलाई सफल बनाउन सक्नुभएन भने लोकतान्त्रिक प्रणालीमाथि नै खतरा उत्पन्न हुन्छ । नेकपा असफल भयो भने सम्हाल्न प्रतिपक्ष पनि तयार छैन ।’ असफल हुँदा एउटा सरकार र नेकपा मात्रै होइन, प्रणाली नै असफल हुने र राजनीतिक कोर्स नै बदलिने खतरा रहेको उनले बताए ।
त्रिपाठीका यी भनाइलाई दुवै अध्यक्षले ठीकै हो भन्दै एकअर्कालाई छेडछाड गरे । कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक मदन भण्डारीको गुणगानका क्रममा दुवै अध्यक्षले एकआपसमा अप्रत्यक्ष ढंगले छेडछाड गरे ।
ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष दाहाललाई व्यंग्य गरे ।
दाहालले पनि मदन भण्डारी आग्रह, पूर्वाग्रह राख्ने संकीर्ण नेता नभएको भन्दै घुमाउरो भाषामा ओली भने संकीर्ण बनेको सांकेतिक आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
सरकार परिवर्तन नहुने दाबी
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट आन्दोलनको सफलता विषयको विचारगोष्ठी समारोहमा विरोधीका आरोपभन्दा पनि वास्ताविकता बुझ्न आग्रह गरे ।
सरकार सञ्चालन आलोपालो भन्ने चर्चा धेरै भएको भन्दै उनले सरकार सञ्चालनमा आलोपालो भन्ने विषय नेकपाको सचिवालयले औपचारिक ढङ्गले नजान्ने उल्लेख गरे । दुई नेताबीच भद्र सहमति भए पनि उनले अभ्रद तरिकाले चर्चा गरेकामा असन्तुष्टि व्यक्त गरे ।
सिसडोलमा आन्दोलन
काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए ।
एक हप्तादेखि काठमाडौँको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएका छन् । फोहर व्यवस्थापनबारे काठमाडौँ महानगरपालिकाका प्रतिनिधि र स्थानीयवासीको छलफल भइरहेको छ ।
सेनाले एकै दिनमा रोप्यो ३८ हजार बिरुवा
नेपाली सेनाले एकै दिन करीब ३८ हजार बिरुवा रोपेको छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा शनिबारएकै दिन त्यतिका सङ्ख्यामा बिरुवा रोपिएको हो ।
राष्ट्रिय वृक्षरोपण दिवसलाई सघाउने नेपाली सेनाको अभियानअन्तर्गत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गल्फ कोर्ससहित काभ्रेको भकुण्डेबेँसी, महोत्तरीको बर्दिवास र चितवनको शक्तिखोरमा पुगेर सेनाका व्यारेक परिसरमा उक्त अभियानअन्तर्गत विभिन्न जातका बिरुवा राखे ।
पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ । शनिबार दिउँसो १ बजे नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
शनिबारै लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रानी–जमरा– कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१० का अन्दाजी २३÷२४ वर्षका करण बुढाथोकी र कृष्ण ओली रहेको प्रहरीले जनाएको छ । उनीहरु कोहलपुरबाट चिसापानी घुम्न आएको समयमा नहरमा नुहाउन लाग्दा डुबेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए ।
प्रहरीले ४० हजार बिरुवा रोप्यो
राष्ट्रिय वृक्षरोपण दिवस २०७६ का अवसरमा नेपाल प्रहरीले देशभरका विभिन्न प्रहरी कार्यालय परिसरमा ४० हजार बढी बिरुवा रोपेको छ । प्रहरी प्रधान कार्यालयलगायत देशभरिका प्रहरी कार्यालय परिसरमा विभिन्न जातका ४० हजार ८३० बिरूवा रोपिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँको बार अध्यक्षमा घिमिरे
काठमाडौँ अदालत जिल्ला बार एकाइको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे विजयी भएका छन् ।
अध्यक्षका उम्मेदवार घिमिरेले एक हजार तीन मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी प्रगतिशील समूहका उम्मेदवार कुमार आचार्यले ११० मत प्राप्त गरेको काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए । अध्यक्षसहित पूरै प्यानल नै लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका छन् ।