
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अभियोगमा आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख पर्शुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र राम बहादुरपाण्डे क्षत्रीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अभियुक्तले विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकामा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानूनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ वटा पदको लिखित परीक्षा सञ्चालनका क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेका थिए ।
अख्तियारका अनुसार शाखा अधिकृत पदका लागि कूल पदसङ्ख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये छ जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएका थिए ।
गृहमन्त्री बादलको उपस्थिति कम
राष्ट्रियसभाको सबै बैठकमा उपस्थित हुनेमा नेकपा सांसद उदया शर्मा रहेकी छिन् । उनी राष्ट्रिय सभाका तीनवटा अधिवेशनका सबै ८९ दिनको बैठकमा उपस्थित भएकी छिन् ।
राष्ट्रिय सभाका अध्यक्ष भन्दा पनि धेरै बैठकमा उनी उपस्थित भएको देखिन्छ । चौथे अधिवेशनमा भने एक दिन छुटेको उनी स्वयं बताउँछिन्। ‘तीनवटा अधिवेशनका सबै बैठकमा उपस्थित भएँ, चौथो अधिवेशन (चालू)मा भने एक दिन अनुपस्थित हुनुर्पयो । एकदिन गयल भएकोमा खल्लो लागिरहेको छ,’ सांसद शर्माले भनिन्, ‘संसद्मा उपस्थित भएर बैठक नसकिँदासम्म बसिरहन्छु ।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८८ बैठकमा उपस्थित भएका छन् । उपत्यका बाहिर रहेका कारण तिमल्सिना एउटा बैठकमा उपस्थित भएका थिएनन् । सो दिनमा उपाध्यक्ष शशीकला दाहालले बैठक शुरू र अन्त्य गरेकी थिइन् ।
संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा राष्ट्रिय सभाका सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बैठकमा सबैभन्दा कम उपस्थित भएको देखिन्छ । मन्त्री थापा मात्र ३२ दिनको बैठकमा मात्र उपस्थित भएका छन् ।
सत्तारूढ दल नेकपाको सचिवालय सदस्य समेत रहेका बादल राष्ट्रिय सभामा रहेका नेताहरूमध्ये सबैभन्दा शीर्ष तहका हुन् ।
गृहमन्त्रीको हैसियतमा संसदीय समितिका बैठक, प्रतिनिधि सभाको बैठक तथा प्रदेशमा भएका सुरक्षा गोष्ठीमा सहभागी हुनुपरेका कारण गृहमन्त्री बाादलको उपस्थिति कम भएको हुन सक्ने सचिवालयका एक अधिकारी बताउँछन्।
बन्ने भयो ‘स्मार्ट फिल्म सिटी’
लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ ।
पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि बुधबार नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन निर्माण कम्पनी वल्र्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ । निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी हुनेछ । सो क्षेत्र दुई हजार ६० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको छ ।
विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्यसहित उक्त परियोजना सञ्चालनका लागि नेपालको स्काइ इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नोरिल्लोबीच बुधबार काठमाडौँमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बैंकिङ कसुर मुद्दामा बैकका कर्मचारीसहित तीन पक्राउ
बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारीनै संलग्न रहेको फेला परेको छ ।
कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानीनोक्सानी पु¥याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो । पक्राउपर्नेमा बैंकका कर्मचारी भक्तपुर बालकोटका छविलाल ढकाल, ठेकेदार कम्पनी एमएस एमके र वाइपीका प्रतिनिधि धनकुटा, महालक्ष्मी नगरपालिका– ७ बस्ने रणधिर तुम्बा, र बाजुरा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने देवजङ्ग शाही रहेको ब्यूरोले जनाएको छ ।
हाल निलम्बनमा रहेका तत्कालीन बैंकका शाखा अधिकृत ढकालले उनीहरुसँग मिलेर बैंकलाई नोक्सानी पु¥याउने उद्देश्यले तीन वर्षअघि रु एक करोड १० लाखको ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरी बैंकिङ अपराध गरेको प्रहरीले जनाएको छ । उनीहरुको विषयमा अहिले पाटन उच्च अदालतबाट म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
भ्याटमा कानून व्यवसायीको सहमति
आर्थिक विधेयक २०७६ अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी व्यवस्थापन कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा जाने सहमति भएको छ ।
अर्थमन्त्रालयका अनुसार कानूनी परामर्श सेवा सम्बन्धमा संयुक्त कार्यदलमा नेपाल एशोसिएशनका प्रतिनिधिको उपस्थितिमा परामर्श भइरहेको र बारबाट प्राप्त सुझावलाई सकारात्मक रुपमा लिई कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा जाने सहमति भएको छ ।
जुवाको खालबाट वडाध्यक्ष पक्राउ
इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बुधबार जानकारी दिए ।
विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई बुधबार जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका–६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, सुनसरी गढी गाउँपालिका– ३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव रहेका छन् । दुहवी–१२ मा रहेको गङ्गा चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ
कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पु¥याएको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।
मुद्दा लगाइएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन् । पक्राउपर्नेमा सङ्घका, सदस्य विपीनकुमार साउद र व्यापारी दिनेश विष्ट पनि छन् ।