काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया तुहाउन कोसिस भइरहेको आरोप लगाएका छन् ।
शान्ति प्रक्रियालाई उद्योग बनाएकाहरूले पूर्व लडाकुलाई संसारभरि घुमाएर अनौठो–अनौठो भाषा बोल्न लगाएको टिप्पणी गरे ।
शुक्रवार नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीभित्र झगडा गराउने कोसिस भइरहेको बताएका हुन् ।
‘के गरी शान्तिप्रक्रिया तुहाइदिन सकिन्छ कि ? कम्युनिस्ट पार्टीभित्र झगडाको आविस्कार गरेर हुन्छ कि ? नेतैपिच्छे आरोपित गरिदिएर हुन्छ कि ? नेपालको शान्ति प्रक्रिया बिथोल्न नेपालदेखि संसारभरि कहाँ–कहाँ घुमाएका छन्, अनौठो–अनौठो भाषा बोलेका छन्,’ प्रचण्डले भने । उनले नाम नलिई पूर्व बाल लडाकु लेलिन विष्टले युरोपेली देशमा गरेको भ्रमणप्रति आपत्ति जनाएका हुन् ।
‘शान्ति प्रक्रिया उद्योगजस्तो भयो । शान्ति प्रक्रियाको असाध्यै संवेदनशील विषय टुंगिसकेको अवस्थामा केही विषयलाई कोट्याएर घाउ बनाएर क्यान्सर प्रवेश गराउन लागि परेका छन्,’ प्रचण्डले भने ।