२६ जेठ २०८३, मंगलबार
मुख्य समाचार

सरकारले भारतको दबाब थेग्न सकेन, बाबुरामले सम्झाए प्रम ओलीलाई निदुली बाहुनको कथा

सरकारले भारतको दबाब थेग्न सकेन, बाबुरामले सम्झाए प्रम ओलीलाई निदुली बाहुनको कथा

काठमाडौं– भारत लगायत विदेशी मुलुकबाट आयात हुने तरकारी तथा फलफूल विषादी परीक्षणपछि मात्र भित्रिन दिने सरकारी निर्णय स्थगित भएको छ ।

बिहीवार बसेको मन्त्री परिषद् बैठकले तत्कालका लागि विषादी परीक्षण स्थगित गर्ने निर्णय गरेको हो । 

यद्यपि साताभरी बसेका मन्त्रिपरिषद्का निर्णयहरू बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने व्यवस्था गरिएकाले औपचारिक रूपमा सार्वजनिक हुन भने बाँकी छ ।

यही असार ३ गते मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशबाट आयात हुने तरकारी तथा फूल विषादी परिषणपछि मात्रै आयात गर्न पाउने व्यवस्था गरेको थियो । 
उक्त निर्देशनपछि भारतबाट तरकारी बोकेर भित्रिने सवारी साधनहरू भन्सार नाकामै रोकिएका थिए । 

यसबीचमा निकै सक्रिय भएको भारतीय दूतावासले निर्णय फिर्ता लिन दबाब बढाएको आसयका समाचारहरू समेत सार्वजनिक भएका थिए । सोही दवावपछि अन्ततः सरकार उक्त निर्णयबाट पछि हटेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले भने निर्णयबारे अनविज्ञता प्रकट गरे ।

‘तरकारी आयातमा समस्या भएको बारेमा छलफल भएको भन्नेसम्म थाहा छ,’ उनले भने, ‘ठ्याक्कै के निर्णय भयो भन्ने थाहा छैन ।’
निर्णय औपचारिक रूपमा कार्यान्वयनमा भने आइसकेको छैन । शुक्रवार दिउँसोसम्म पनि भैरहवा नाकामा तरकारीका ट्रकहरू रोकिएका छन् ।

बाबुरामको टिप्पणी
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीबीच व्यङ्ग्य दोहोरी चलेको छ । 

शुक्रबार बिहान भट्राईकै पार्टीका केही नेतालाई नेकपा प्रवेश गराउने क्रममा ओलीले भ्यागुताको कथा सुनाएर व्यङ्ग्य गरेपछि भट्टराईले पनि ओलीलाई निदुली बाहुनको कथा स्मरण गराएका छन् । 

भट्टराईले ओली काकतालीले अहिलेको अवस्थामा आइपु्गेको समेत टिप्पणी गरेका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ, त्यो सँगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि !’

निदुली बाहुन नजान्दा नजान्दै पनि कागताली परेर ज्योतिषी कहलिन पुगेको उल्लेख गर्दै अहिले त्यसैगरी ओली राज्यज्योतिषी बन्न पुगेको भट्टराईले टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री ओलीले देशमा पीएचडी गरेका व्यक्तिहरु धेरै भएको भन्दै तीमध्ये बाबुराम देशमा पीएचडीवाला आफूमात्रै भएको भनेजसरी हिँड्ने गरेको बताएका थिए ।

उनले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइको नाम लिँदै भ्यागुताको कथा जस्तो नहुन सुझाव दिएका थिए । ‘यहाँ कोहीकोही पीएचडीवाला आफूमात्रै हुँ भन्ने पनि छन् । तर त्यस्तो होइन । एउटा भ्यागुतोको बच्चाले एक दिन गाइको बाछो देखेछ । गाइको बाछो उसलाई निकै ठूलो लागेछ । अनि गएर आफ्नो आमासँग भनेछ – आज मैले धेरै ठूलो जनावर देखे,’ ओलीले भने, ‘आफ्नो बच्चाले ठूलो जनावर देखेपछि आमालाई पनि कौतुहलता लागेछ र भुँडी फुलाउँदै जनवारजत्रो हुने प्रयास गर्दागदै भुँडी नै फुटेर मरेको थियो, त्यस्तो नहोस् ।’ 

प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र नभई सिंगो समाजवादी पार्टी पनि अट्न सक्ने भन्दै देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्न नहुने बताएका थिए । 

मास्क लगाएर ओलीको विरोध ! 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि मास्क लगाउनेहरू घटेको भन्ने अभिव्यक्तिको प्रतिरक्षा गरेका छन् ।

मदन भण्डारीको जन्मजयन्तिका अवसरमा केही दिनअघि नेकपाले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि मास्क लगाउनेहरू देखिन छाडेको बताएका थिए ।
शुक्रवार पार्टी मुख्यालय धुम्बाराहीबाट प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिको प्रतिरक्षा गरेका हुन् ।

समाजवादी पार्टीबाट नेकपामा प्रवेश गरेका पूर्व नयाँ शक्ति नेताहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने– मेरो नेतृत्वमा सरकार बन्ने बेलामा धूलोका कारण मास्क नलगाई हिँड्न सक्ने अवस्था नै थिएन, अहिले त्यो घटेको छ भनेको थिएँ केही तत्वहरूले मेरो विरोध गर्नकै लागि मास्क लगाउन थालेका छन् । मास्क लगाउने बानी बसाल्नु त स्वास्थ्यका लागि राम्रो हो नि !

प्रधानमन्त्री ओलीले आइफा अवार्डबारे सरकारी तहबाट निर्णय नै नभई विरोध गरिएको भन्दै असन्तुष्ट पनि जनाए । देशलाई फाइदा हुने देखे आफूले आइफा अवार्ड गर्न दिने उनको भनाइ थियो ।

सो क्रममा पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए । 

उनीहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए । 

खड्गीलाई हृदयघात
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ ।

उनलाई बिहीवार साँझ नै अस्पताल लगिएको थियो । श्रीमान प्रकाश खड्गीका अनुसार अहिले उपमेयर खड्गीको स्वास्थ्य अवस्था सामान्य छ ।

परराष्ट्रमन्त्री स्वदेश फिर्ता
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पाँच दिवसीय चीन भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।
 
उनी चिनियाँ शहर  डालियानमा आयोजित  विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिएर आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय परामर्शका निम्ति बेइजिङ पुगेका थिए । 

प्रेरणाको दाइजो विवादमा मिसिल झिकाउने आदेश
सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित दाइजो दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरजबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलाशले शुक्रबार ‘मिसिल झिकाउने’ आदेश जारी गरेको हो । 

सर्वोच्च अदालतमा उक्त दाइजोसम्बन्धी विवादमा यसअघि दुई पटक सुनुवाइ भएर टुङ्गिएको थियो । सो विषयमा पुनः तेस्रो पटक सुनुवाइ हुने भएको हो । प्रेरणाले छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा आएको भन्दै पहिलो पटक २०७१ साल माघ २५ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । 

 तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनोट
रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेश गरेका थिए । 

    मन्त्रालयले गठन गरेको विशेषज्ञ सम्मिलित टोलीले सम्पूर्ण स्वास्थ्य संस्थाको अनुगमन गरी मापदण्ड पूरा भएका संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि छनोट गर्न मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । उक्त समितिको सिफारिश बमोजिम श्रम मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी स्वास्थ्य संस्थाको छनोट गरेको हो ।

एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक
ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय गरेका हुन् । 

    सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् । 

नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी यु–१९ पूर्वी क्षेत्र (इस्टर्न रिजन) क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ ।
 
    मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गर्दै समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो ।

    पराजित सिङ्गापुर पनि समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर र चीन छन् । यसअघि भएको पहिलो खेलमा नेपालले चीनलाई र सिङ्गापुरले पनि चीनलाई नै पराजित गरेको थियो । दुई खेल खेलेको चीन दुवै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।
     
    

salt training

कमेन्ट गर्नुहोस्