११ असार २०८३, बिहीबार

चितवनमा मानवअधिकार उल्लंघनका ५३ घटना

चितवनमा मानवअधिकार उल्लंघनका ५३ घटना

चितवन – अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को ६ महिनामा जिल्लामा ५३ वटा मानवअधिकार उल्लंघनका घटना भएको जनाएको छ ।

इन्सेक चितवनले शुक्रबार अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको जानकारी दिएको हो । 

अघिल्लो वर्ष ६ महिनामा ४५ घटना भएका थिए । यस वर्षको ६ महिनामा जिल्लामा सबैभन्दा धेरै जबरजस्ती करणीका घटना सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले ३४ वटा घटना जबरजस्ती करणीका भएको बताए । जसमा बालिकादेखि ७३ वर्षीया महिलासम्म रहेका छन् । 

जबरजस्ती करणीमा पर्नेमा बालिका बढी रहेका छन् । १७ जना बालिकालाई जबरजस्ती करणी भएको छ भने ४ जनामा यौन दुव्र्यवहार भएको छ । ७ जना महिलामाथि करणी भएको छ भने २ जनामाथि करणीको प्रयास भएको इन्सेकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । हाडनाता करणीका ४ वटा घटना भएका छन् । 

जिल्लामा भएका अन्य मानवअधिकार उल्लंघनका घटनामा जातीय विभेद ३ वटा, घरेलु हिंसाका ६ वटा, बालिका बेचबिखनमा एउटा, महिला बेचबिखनमा एउटा र बहुविवाहमा ८ वटा निवेदन दर्ता भएको सो अवसरमा जानकारी दिइएको थियो । 

जिल्लामा पछिल्लो समय बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । यसलाई रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताए ।

सो अवसरमा वक्ताले मानवअधिकारका विषयमा भएका घटनालाई दण्ड सजाय बढाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा अधिवक्ताहरु कल्पना उप्रेती, मुकुन्द दाहाल, नेपाल पत्रकार महासंघ चितवका अध्यक्ष राधेश्यम खतिवडा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला लगायतले बोलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्