
झापा – जिल्ला प्रशासन कार्यालय झापाले २१ वटा सरकारी कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने विभिन्न निवेदन लगायतका कागजातको नमूना समेटेर पहिलोपल्ट ‘सेवाप्रवाह बडापत्र–२०७५’ प्रकाशित गरेको छ ।
प्रदेश नम्बर १ का मुख्यसचिव सुरेश अधिकारीले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमबीच सो बडापत्रको विमोचन गरे । ४ सय ७ पृष्ठ रहेको बडापत्रमा सरकारी कार्यालयमा प्रयोग हुने निवेदन, सिफारिस, दर्तालगायतका महत्वपूर्ण कागजातको औपचारिक ढाँचा राखिएको छ ।
बडापत्रमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, भूमिसुधार व्यवस्था कार्यालय, कृषि ज्ञान केन्द्रलगायत स्थानीय गाउँपालिका र नगरपालिकामा सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनका सबै नमूना समेटिएको छ ।
मुख्यसचिव अधिकारीले देशभरका सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन प्रयोग हुने भएकाले झापा प्रशासनले प्रकाशित गरेको बडापत्र उपयोगी र नागरिकमैत्री भएको बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यो बडापत्र प्रयोग गरेर हरेक नागरिकले विचौलियाको सहयोगबेगर आफैं सरकारी कार्यालयको सेवा प्राप्त गर्नसक्षम हुने विश्वास व्यक्त गर्दै अब सरकारी सेवा लिनका लागि कुनै झन्झट नहुने बताए ।
निवेदन लगायतका सरकारी कागजातको ढाँचा थाहा नहुँदा विचौलियाले सेवाग्राहीसँग त्यसको नाजायज आर्थिक लाभ लिने गरेको जनगुनासो बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले सबै सरकारी कार्यालयको निवेदनलगायतको ढाँचा डाउनलोड गर्न सकिने गरी आफ्नो वेबसाइटमा राख्ने तयारी गरिरहेको बडापत्रको सम्पादक मण्डलका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए ।