१० असार २०८३, बुधबार

बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा

बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा
प्रतिकात्मक तस्वीर

गलेश्वर – बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ ।

आइतवार राति रघुगंगा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ ।

निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो क्षेत्रमा कालीगण्डकी करिडोर निर्माणको काम भइरहेको छ । गलेश्वरको बेलिब्रिज खतरामा रहेकाले निर्माणाधीन अर्को बेलिब्रिज छिटो निर्माण गर्न बारम्बार दवाव दिँदै आएको तर पुल निर्माणको ठेक्का लिएको शर्मा युनाइटेड विल्डर्स जेभी काठमाडौंले सुनेको नसुन्यै गरेको स्थानीय वासिन्दाले बताएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गलेश्वरको बेलिब्रिज उच्च जोखिममा रहेकाले कुनै पनि बेला बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुने अवस्थामा रहेको बताए । उनले आयोजना प्रमुखलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको पनि जानकारी दिए ।

गलेश्वरको बस्ती र पुल जोगाउन तत्काल तटबन्ध गर्नुपर्ने स्थानीयले माग गरेका छन् । ‘तत्काल नदी कटान नरोक्ने हो भने पुल भत्केर मुस्ताङलगायत उत्तरी म्याग्दीको यातायात सम्पर्क ठप्प हुन्छ,’ स्थानीय मोहन केसीले भने ।

salt training

कमेन्ट गर्नुहोस्