०५ साउन २०८३, मंगलबार

नेकपाको आग्रहपछि पत्रकार महासंघले फिर्ता लियो आन्दोलन

नेकपाको आग्रहपछि पत्रकार महासंघले फिर्ता लियो आन्दोलन

काठमाडौँ -मिडिया काउन्सिल विधेयकका कतिपय प्रावधानप्रति असन्तुष्ट हुँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको आग्रहपछि आन्दोलन फिर्ता लिएको छ ।

महासंघले मंगलवार एक विज्ञप्ति जारी गरी आन्दोलन फिर्ता लिएको बताएको हो । 

'मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव तयार पारी महासंघले उठाउँदै आएको मिडिया काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्ड-जरिवानालगायतका सरोकारहरूलाई सम्वोधन गर्ने तथा सञ्चासम्बन्धी अन्य विधेयकहरूमा पनि महासंघसँग छलफल गरी अघि बढाउने लिखित प्रतिवद्धता व्यक्त भएको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ, 'यस सन्दर्भमा महासंघले सञ्चालन गर्दै आएको तेस्रो चरणका सडक संघर्षका बाँकी कार्यक्रमहरू स्थगित गरी संघीय संसदमा संशोधन प्रक्रियामार्फत महासंघले उठाएका विषयवस्तुलाई सम्बोधन गराउन छलफल, संवादजस्ता गतिविधिमार्फत दबाब सृजना गरिने जानकारी गराउन चाहन्छ ।'

मिडिया काउन्सिल विधेयकलाई महासंघले उठाएका सबै मागहरूसहित संशोधन गरिने प्रतिबद्धता आएकाले आन्दोलन फिर्ता लिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले दाबी गरे । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको टोलीसँग वार्ता गरेपछि आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने सहमति भएको हो ।

नेम्वाङको नेतृत्वमा भएको वार्तामा नेकपाका महासचिव बिष्णु पौडेल, नेताहरु योगेश भट्टराई, दिनानाथ शर्मा, कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाललगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्