०६ साउन २०८३, बुधबार

कास्की र सुनसरीमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

कात्तिक २०, २०७४
कास्की र सुनसरीमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

चितवन, १३ चैत– कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखा परेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ ।

यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा। डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।

काठमाडौँ, पोखरालगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी क्षेत्रमा हेटौँडालगायतका क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको उनले बताए ।

कार्यालयले अण्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित संघ संगठनका अध्यक्ष एवम् पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको सेढाईंले बताए ।

दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजनासमेत बनाइएको उनको भनाइ छ । संघ संगठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ । जसमा फार्म प्रवेश गर्दा बाहिर लगाएको कपडा नलगाउन भनिएको छ र प्रवेशद्वारमा पानीको जैविक घोल बनाई त्यसमा टेकेर गाडी र मानिस प्रवेश गराउन लगाइएको छ ।

सेढाईंका अनुसार भित्र छिरेपछि गाडी र मानिसलाई खर्सोलिङ वा पोटासियम परम्याग्नेट मिसाइएको पानी छर्केर निर्मलीकरण गर्न भनिएको छ ।

त्यसैगरी, खोरको ढोकामा पनि पानीको तलाउ बनाएर खुट्टाले टेकेर मात्रै फार्ममा प्रवेश गर्न लगाइएको उनले बताए । फार्ममा अन्य पशुपक्षी जान नदिन कडाइ गर्न लगाइएको छ भने कुखुरा प्रवेश गर्ने र बाहिरिने फरकफरक बाटो प्रयोग गर्न लगाइएको छ । फार्म र घरसँगै नराख्न र फार्ममा नियमित चुना छर्कन अनुरोध गरिएको छ ।

कार्यालयले जिल्लाका १४ वटा सेवा केन्द्रमार्फत तालिका नै बनाएर नियमित अनुगमन गर्ने र खोजी अभियानकै रुपमा काम गरिरहेको प्रमुख सेढाईंले बताए ।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला प्राविधिक समितिको बैठक बसेर विशेष उच्च सतर्कता अपनाउन सबैमा अपिल गरिएको छ ।

राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले पूर्वमा मकवानपुर, पश्चिममा नवलपरासी जिल्ला र चितवनका पूर्वी तथा पश्चिमी भेगमा खोजी अभियानलाई तीव्रता दिइएको बताए ।

शंकास्पद देखिएका १० वटा नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको पनि चापागाईंले बताए । कम क्षति पु¥याउने एच९एन२ नाम जीवाणु फेला पर्न सक्ने भन्दै उनले बढी हानिकारक एच५एन१ जीवाणु भने अहिलेसम्म नभेटिएको जानकारी दिए । कुखुरा धेरै मरेका, अण्डा कम पारेका र शङ्कास्पद देखिएका कुखुराको नमुना सङ्कलन गरी तत्काल परीक्षण भइरहेको पनि उनले बताए ।

नेपालमा एक सातामा एक लाख ३० हजार लेयर्स चल्ला र २२ देखि २५ लाख ब्रोइलर चल्ला उत्पादन हुँदै आएको छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बर्डफ्लु भित्रिन नदिन व्यवसायीलाई उच्च सतर्कता अपनाउन भनिएको बताए । जैविक सुरक्षामा ध्यान दिए डराउन नपर्ने उनको भनाइ छ ।

हाल देशभरमा दैनिक २२ लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले फार्ममा जैविक सुरक्षालाई विशेष ध्यान दिइएको बताउँदै पुरानो पेटी र क्रेट प्रयोग नगरिएको जानकारी दिए ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेत आफ्नै कारणले दुःख पाउने हुँदा हेलचक्र्याइँ नगर्न सबै किसानलाई आग्रह गर्छन् । नेपालमा दैनिक आठ लाख ५० हजार किलो कुखुराको तयारी मासु खपत हुँदै आएको तथ्याङ्क छ ।

पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बराल कास्की र सुनसरीमा बर्डफ्लु देखा परेपछि यहाँ उच्च सतर्कता अपनाइएको बताउँछन् । अहिले मागअनुसार कुखुरा पूर्ति हुन नसक्दा पनि मूल्य नघटेको उनले बताए ।

नेपालमा कुखुराजन्य क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भएको व्यवसायीले बताउँदै आएका छन् । जसको ५० प्रतिशतभन्दा बढी लगानी चितवनमा छ ।

कमेन्ट गर्नुहोस्