१६ असार २०८३, मंगलबार

अफगानिस्तानको शान्तिवार्तामा भारतलाई समावेश गराइएन, पाकिस्तान केन्द्रीय भूमिकामा

अफगानिस्तानको शान्तिवार्तामा भारतलाई समावेश गराइएन, पाकिस्तान केन्द्रीय भूमिकामा

काठमाडौं – गत साता तालिबानसँग शान्ति सम्झौताको स्वरूप तयार पार्न अमेरिका, रुस, चीन र पाकिस्तानले भूमिका निर्वाह गरेका छन् ।

अफगानिस्तानको सुखद भविष्यका लागि भारतले लामो समयदेखि गरेको प्रयास निष्प्रभावी भएको छ । यसमा भारतको उपस्थिति र आवाज कमजोर हुँदै गएको छ भने पाकिस्तानले यस अवसरको फाइदा उठाएर आफूलाई भूराजनीतिको केन्द्रमा स्थापित गरेको छ ।

अमेरिकाले अफगानिस्तानको मुद्दामा रुस र चीनसँग मिलेर काम गर्न सफलता पायो । गत साता उसले पाकिस्तानलाई पनि यसमा समावेश गरेको थियो । पाकिस्तान नै तालिबानको प्रमुख स्पोन्सर हो । 

पाकिस्तानले नै तालिबानलाई वार्तामा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको हो । बेइजिङमा शुक्रवार अफगान शान्ति प्रक्रियामा चौपक्षीय साझा बयान जारी गर्ने विषयमा चारै देशको बैठक भएको थियो । 

भारतका लागि अफगानिस्तानका पूर्व राजदूत तथा राष्ट्रपति पदका उम्मेदवार शाइदा अब्दालीले गत साता द टाइम्स अफ इन्डियालाई बताएका थिए, ‘अफगानिस्तानसँग सम्बन्ध बलियो बनाउने भारतको १८ वर्षको प्रयास अहिलेको मोडमा आएर असफल हुनु हुँदैन । अफगानिस्तानमा विकसित परिस्थितिमा भारतलाई संलग्न नगराउँदा दीर्घकालीन भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’

तर भारत यो शान्ति सम्झौतामा संलग्न गराइएको छैन र भारतीय चिन्ताहरूलाई पनि वास्ता गरिएको छैन । 

भारतले तालिबानसँगको शान्ति प्रक्रिया पूरा नभएसम्म राष्ट्रपति चुनाव हुन नहुने अडान लिइरहेको थियो । तर अफगानिस्तानका लागि अमेरिकी राजदूत जोन बासले बिहीवार राष्ट्रपति चुनाव शान्ति प्रक्रिया पूरा नहुन्जेल टार्न सकिने बताएका छन् । 

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ भारत आउँदा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले निकै जोड दिएर शान्ति प्रक्रिया चलिरहँदा नै अफगानिस्तानमा राष्ट्रपति चुनाव हुनुपर्ने बताएका थिए । भारतले अमेरिकाका विशेष प्रतिनिधि जलमे खालिजाद र रुस दुवैसामु अफगानिस्तानमा अन्तरिम सरकार गठनको प्रस्तावको विरोध गरेको थियो । तर अफगानिस्तानको शान्तिका प्रमुख सरोकारवाला कसैले पनि भारतको आवाजलाई वास्ता गरेको देखिँदैन । 

गत साता अमेरिका र तालिबानले अस्थायी सम्झौताका आठवटा विन्दु तय गरेका थिए । खालिजादले यसलाई अमेरिकी सैनिक फिर्ती नभई शान्ति सम्झौता भने पनि तालिबान र अन्य पक्ष अफगानिस्तानबाट भाग्ने अमेरिकी प्रयास मानिरहेका छन् । अचम्मको कुरा त, तालिबानले दिनदिनै आतंकवादी आक्रमण गरे पनि शान्ति प्रक्रिया तीव्रताका साथ अघि बढिरहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्