काठमाडौं – दक्षिण कोरियामा इन्टरनेटको स्पीड संसारका सबै देशको भन्दा तीव्र रहेको एक रिपोर्टले देखाएको छ ।
दक्षिण कोरियामा लगभग हरेक व्यक्तिसँग स्मार्टफोन छ र सबैजना इन्टरनेटमा जोडिएका छन् । तर यसको लतका कारण युवाहरू मानसिक र शारीरिक रूपमा रोगी बनेका छन् ।
देशभरि अनेकौं केन्द्र खोलेर युवाहरूलाई इन्टरनेटको लत छुटाउनका लागि सहायता गर्ने गरिएको छ । विद्यालयहरूमा यसका लागि विशेष कार्यक्रम पनि शुरू गरिएको छ ।
पोहोर सालको आधिकारिक आँकडाअनुसार, एक लाख ४० हजार युवा इन्टरनेटको लती छन् । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । नेसनल हेल्थ सर्भिसका अनुसार, कुनै व्यक्तिले नियन्त्रण गुमाउन पुगेमा त्यसको लत लागेको मानिन्छ ।
इन्टरनेटको लत लागेका युवा मानसिक र शारीरिक रूपमा रोगी हुन थालछन् । उनीहरू झर्कोफर्को गर्न थाल्छन् । यसबाट व्यक्तिको व्यवहारमा परिवर्तन हुन थाल्छ । व्यक्तिले सुत्ने र खाना खाने काम पनि टार्न थाल्छ ।
अहिले धेरै युवाहरू लत छुटाउन क्याम्पहरूमा जाने गरेका छन् ।
क्याम्पहरूमा अन्लाइनको संसारबाट कसरी टाढिने भनी तरिका सिकाइन्छ । मुनु शहरको क्याम्पमा लत छुटाउनका लागि सन् २०१४ देखि अहिलेसम्म १२ सय युवा आइसकेका छन् । क्याम्पका कडा अनुशासन पालन गर्नुपर्छ । त्यहाँ फोन अनि अन्य कुनै पनि विद्युतीय सामान लाने अनुमति छैन ।
लत छुटाउन गएकी १७ वर्षीया हावोंले आफूलाई यूट्युब हेर्ने खराब लत लागेको बताइन् । उनी १८ घन्टासम्म यूट्युबमा समय बिताउँथिन् । त्यसले गर्दा उनी झर्कोफर्को गर्ने अनि तनावमा रहने गर्थिन् । यसले उनको पढाइ पनि बिगारेको थियो । त्यसपछि उनले क्याम्प जाने योजना बनाइन् ।
क्याम्प म्यानेजर योङ–चुल शीमले भने, ‘क्याम्पमा युवाहरूलाई अन्य गतिविधि पनि गराइन्छ । उनीहरूलाई काउन्सेलिङ दिइन्छ र त्यहाँ उनीहरूले खुलेर आफ्नो समस्याको कुरा गर्छन् । उनीहरूलाई इन्टरनेट र सामाजिक सञ्जालको विकल्प दिने कोशिश गरिन्छ । अनि उनीहरूको हौसला पनि बढाइन्छ ।’
एजेन्सी