काठमाडौं – उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र परीक्षण पुनः गर्ने संकेत दिएको छ । अमेरिका र दक्षिण कोरियाका सेनाले गर्न लागेको सैन्य अभ्यासले वाशिङटनसँग चलिरहेको निःशस्त्रीकरण अभ्यासमा खलल पुग्ने उत्तरको भनाइ छ ।
मंगलवार एक वक्तव्य जारी गरेर उत्तरको परराष्ट्र मन्त्रालयले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भएको सहमतिको मर्मलाई उल्लंघन गर्ने गरी अगस्ट महिनामा सैन्य अभ्यास गर्न लागिएको बतायो ।
गत वर्ष सिंगापुरमा भएको पहिलो शिखर बैठकपछि ट्रम्पले दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास रोक्ने सहमति जनाएका थिए ।
उत्तरले आणविक र क्षेप्यास्त्र परीक्षण रोक्ने कुरा प्रतिबद्धता मात्र भएको र द्विपक्षीय सम्बन्धलाई सुधार गर्न यसो गरिएको र यो कुनै कागजमा लेखिएको कानूनी दस्तावेज नभएको बताएको छ ।
‘अमेरिकाले आफ्ना प्रतिबद्धता एकपक्षीय रूपमा उल्लंघन गरेपछि हामीले पनि अमेरिकासँग गरेको प्रतिबद्धतामा अडान राख्नुलाई जायज ठहर्याउन छोडेका छौं,’ वक्तव्यमा भनिएको छ ।
प्योङयाङले पछिल्लोपटक नोभेम्बर २०१७ मा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो तर त्यसपछि उसले छोटा दूरीका हतियार मात्र परीक्षण गरेको छ । अन्तिम आणविक परीक्षण भने उसले सेप्टेम्बर २०१७ मा गरेको थियो ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुने सैन्य अभ्यासलाई लामो समयदेखि आलोचना गर्दै आइरहेको छ । आफूमाथिको आक्रमणको पूर्वाभ्यासका रूपमा उसले यसलाई लिएको छ ।
द वाशिङटन पोस्टबाट