
काठमाडौं – फ्रान्सको स्थानीय प्रिफेक्चरले एक नर्सलाई असाध्यै काममा खट्ने गरेको कारण दिएर नागरिकता दिन अस्वीकार गरेपछि हंगामा मच्चिएको छ ।
ती महिलाको राष्ट्रियता खुलेको छैन । उनी फ्रान्समा आएकी आप्रवासी कामदार हुन् र तीनवटा जागिर खान्छिन् । उनी घन्टाको ५९ घन्टा काम गर्छिन् ।
महिनाको औसत २७१ घन्टा काम गर्ने महिलाले फ्रान्सको कामसम्बन्धी नियमावली उल्लंघन गरेको मानिएको छ ।
पेरिसको भाल–दे–मार्ने प्रिफेक्चरले नर्सलाई कानूनको पालन नगरेको जिकिर लिँदै नागरिकता दिन अस्वीकार गरेको हो ।
उनले हप्तामा अधिकतम ४८ घन्टा मात्र काम गर्न पाउँछिन् ।
उनले नागरिकताका लागि दुई वर्षपछि फेरि निवेदन दिन सक्ने प्रिफेक्चरले बताएको छ ।
उनलाई दिइएको अस्वीकृति पत्र उनकी साथीले अन्लाइनमा शेयर गरेकी हुन् ।

नर्सलाई नागरिकता नदिइएको विषयले सामाजिक सञ्जाल तताएको छ । मानिसहरूले नर्सको प्रतिरक्षा गरेका छन् ।
एक चिकित्सकले स्वास्थ्य सेवामा लागेका मानिसहरू सरकारले तोकेको भन्दा बढी समयसीमामा काम गर्नु सामान्य भएको बताए ।
एजेन्सी