
काठमाडौं – भारतका उत्तर प्रदेशमा रहेको इटाह जिल्लामा तीनवटा टाउको सहितकी शिशु जन्मिएकी छन् ।
यी शिशुको जन्म प्राथमिक स्वास्थ्य केन्द्रमा असार २६ मा भएको हो ।
गर्भवती महिलालाई पिलुवा गाउँबाट ल्याएर स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । उनले बच्चा जन्माउने बेलामा चरम पीडा भोगेकी थिइन् ।
तीनवटा टाउको भएको शिशु जन्मिएपछि भने परिवारका सदस्य र चिकित्सकहरू स्तब्ध भएका थिए ।
सामान्य शिरसँगै उनको खप्परको पछाडितिरको भागबाट दुई अरू टाउका निस्किएका थिए ।
महिलाको सामान्य गर्भाधान भए पनि असामान्य शिशु जन्मिएकोमा चिकित्सकहरू छक्क परे ।
प्राथमिक स्वास्थ्य केन्द्रमा उचित स्वास्थ्य सुविधा नभएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।
चिकित्सकहरूले एमआरआई स्क्यान गरेर शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिने बताए ।
‘यो अत्यन्तै दुर्लभ घटना हो,’ चीफ मेडिकल सुपरिन्टेन्डेन्ट राजेश ठाकुरले व्याख्या गरे, ‘शिशुको शरीर पूर्ण रूपमा विकसित भएको छैन । हामीहरू एमआरआई स्क्यान गर्छौं अनि टाउको छुट्ट्याउनका लागि शल्यक्रिया गर्छौं ।’
एजेन्सी