१० असार २०८३, बुधबार

ठेकेदारको चरम लापरवाहीले कर्णाली राजमार्ग नै बन्द हुने खतरामा

साउन ६, २०७६
ठेकेदारको चरम लापरवाहीले कर्णाली राजमार्ग नै बन्द हुने खतरामा

सुर्खेत - कर्णाली राजमार्गमा बन्दै गरेका पुलहरू राम्रोसँग नबनाइएका कारण कर्णाली राजमार्ग नै ठप्प हुने स्थितिमा पुगेको छ । दैलेख पश्चिमको आठबीस नगरपालिका वडा नं. ४ को खोली बजारमा अवस्थित कानेगाड खोलाको पुल लगायत राजमार्गमा बन्दै गरेका अन्य १४ पुलमा गहिरो खाल्डो खनेर नपुरी छाड्ने ठेकेदारको प्रवृत्तिका कारण कर्णाली राजमार्ग जोखिममा परेको हो ।

ठेकेदार कम्पनी सूर्य कन्स्ट्रक्सन प्रालीले कर्णाली राजमार्गमा गत वर्षबाट राजमार्गमा १४ वटा पुल बनाइरहेको छ । तर हरेक खोलामा गहिरो खाल्डाहरु खनेर नपुरी छाडेको र त्यही बेलामा वर्षे भेल आउने क्रम जारी रहेकाले अहिले वरिपरीका घर, जग्गा बाढीले बगाउने खतरा बढेको हो । निर्माणाधीन पुल भत्किने खतरा बढेपछि पुरै राजमार्ग अवरुद्ध हुने स्थितिमा रहेको छ ।

स्थानीयले ठेकेदार कम्पनीलाई बारम्बार खाल्डो पुर्न तथा समयमै पुल निर्माण गर्न अनुरोध गरेपनि ठेकेदारले भने स्थानीयका कुरै नसुनी हिंडेको स्थानीय महेन्द्र माझी बताउँछन् ।

‘मेरो एक करोड भन्दा बढी लगानीको घर जोखिममा परेको छ,' माझीले भने, ‘अन्य स्थानीयहरूको पनि घर जग्गा उच्च जोखिममा परेको छ ।’ उनले आफ्नो घर, खोलाको पुल तथा स्थानीयको २५ रोपनी जग्गा खोलाको बाढीले बगाउने सम्भावना भएको बताए । ‘गहिरो खाल्डो पारी त्यसै छोडिएकोले पुलको दाँयातर्फ पानी पर्दा बित्तिकै भत्किने गरेको छ,' माझीले भने, ‘पुल भत्कियो भने कर्णाली राजमार्ग नै ठप्प हुने स्थितिमा आइपुगेको छ ।’

विश्व बैंकको लगानीमा बन्दै गरेको पुलले स्थानीयको जग्गा र आफ्नो घरका साथै पुल पनि धरापमा परेको भन्दै चाँडो खाल्डो पुर्न पुल निरीक्षणको प्रत्यक्ष अनुगमन गरिरहेको आरएसडिपी २ लाई २०७५ जेठ २० गते नै पत्र लेखेको उनले बताए ।

‘मैले प्रत्यक्ष रुपमा निरीक्षण गरिरहेको सम्बन्धित निकायलाई आउन सक्ने खतराको समाधान गरिदिन वर्ष नै पत्र लेखेको थिएँ,' उनले भने, ‘तर सुनुवाई नै भएन ।’ ठेकेदारले तेल पनि नपठाएका कारण खाल्डो भर्न सकस परेको तथा कामदारहरु पनि गइसकेको उनको गुनासो छ ।

पुलहरुको प्रत्यक्ष निगरानी गरिरहेको आरएसडिपीका इन्जिनियर दिपक बोहोराले भने ठेकेदारकालाई तत्काल खाल्डो भर्न निर्देशन दिइसकेको बताए ।

‘हामीले ३ दिनअघि नै निर्माण कम्पनीलाई तत्काल जोखिम न्यूनिकरण गर्न खबर गरेका छौं,' उनले भने, ‘त्यसका लागि हामीले हाम्रो माथिल्लो निकायमा पनि परिपत्र गरिसकेका छौं ।’ उनले जोखिम रहेको चाहिँ स्वीकार गरे ।

आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले ठेकेदारलाई आफुले तत्काल काम सम्पन्न गर्न वा खाल्डो पुर्न निर्देशन दिइसकेको बताए । ‘मैले ठेकेदारलाई काम तत्काल सम्पन्न गर्न वा खाल्डो पुरेर ठूलो जनधनको क्षति हुनबाट बचाउन निर्देशन दिइसकेको छु,' उनले भने, ‘ठेकेदारले जसरी पनि समस्या समाधान गर्नुपर्छ यसको विकल्प नै छैन ।’

फिल्ड हेरिरहेका सुर्य कन्स्ट्रक्सन प्रालिका दिपक खड्काले आफूहरूले काम गर्न चाहेको तर मजदूर रोपाईं गर्न गएका कारण काम गर्न नसकेको प्रतिक्रिया दिए । ‘एकातिर मजदुर गाउँ फर्किए,' उनले भने, ‘भुक्तानी पनि नआएका कारण काम रोकिएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्