१५ असार २०८३, सोमबार

गोरखामा बन्यो खसीबोका संकलन केन्द्र

गोरखामा बन्यो खसीबोका संकलन केन्द्र
सन्दर्भ तस्वीर

गोरखा- गोरखामा पहिलो पटक खसीबोका संकलन केन्द्र निर्माण भएको छ । 

जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजिकै करीब ५०० वटा खसीबोका अट्ने गरी संकलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा. ब्रज किशोर ठाकुरले जानकारी दिए । 

गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा गोरखा जिल्लामा खसीबोका संकलन केन्द्र निर्माण भएको उनले बताए । जिल्लाभरका किसानले उत्पादन गरेको खसीबोका बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा संकलन केन्द्र निर्माण गरिएको डा. ठाकुरको भनाइ छ । 'यहाँका किसानलाई खसीबोका बिक्रीका लागि उपयुक्त बजार नहुँदा समस्या हुँदै आएको थियो,' उनले भने, 'अब जिल्लाभरका सबै किसानले आ–आफ्नो घरमा पालेका खसीबोका यहाँ ल्याएर बिक्री गर्न सक्नुहुन्छ ।' संकलन केन्द्रमा किसानले ल्याएर राख्दा पैसा नलाग्ने व्यवस्था गरिएको उनले बताए । 

केन्द्रमा खसीबोका राख्नका लागि सुरक्षित खोरहरू निर्माण गरिएका छन् । 'प्रत्येक खसीबोकालाई चिसोबाट जोगाउन सकिने गरी खोर निर्माण गरिएको छ,' उनले भने, किसानहरूले आफैंले पालेर बिक्रीका लागि ल्याउँदा सबै बिक्री भइहाल्छ भन्ने छैन, बिक्री नभएका जति यहाँ राखेर अर्को दिन बिक्री गर्न सक्छन् तर संकलन केन्द्रमा राखिएको खसीबोका रेखदेख र हेरविचार भने किसान आफैंले गर्नुपर्ने हुन्छ ।' 

'गाउँमा किसानले उत्पादन गर्दै आएको खसीबोकाले बजार नपाउने र बिक्री गर्ने ठाउँको समेत अभाव हुँदा समस्या हुँदै आएको थियो, अब यहाँ संकलन केन्द्र निर्माण भएसँगै यो समस्याबाट किसान मुक्त भएका छन्,' डा. ठाकुरले भने ।

जिल्लाबाहिरका व्यापारीहरूलाई संकलन केन्द्रमा केन्द्रित गर्ने र जिल्लाभित्रका खसीबोका पाल्दै आएका किसानलाई पनि संकलन केन्द्रमा केन्द्रित गरी व्यवसायको प्रवर्द्धन गर्न जोड दिइने उनले बताए । यसले जिल्लाभरको उत्पादन गरिने खसीबोकाको बिक्रीका लागि अब बजारको समस्या नहुने उनको भनाइ छ । 

बाह्रकिलो बजारबाट राजधानी काठमाडौं, पोखरा, चितवन, वीरगञ्ज लगायतका मुख्य–मुख्य शहरसम्म खसीबोका पुर्‍याउन सजिलो हुने भएकाले उक्त स्थानमा संकलन केन्द्र निर्माण गरिएको प्रमुख डा. ठाकुरले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्